काठमाडौं। नेपाली कांग्रेसले १५औँ महाधिवेशन व्यवस्थापनका लागि केन्द्रीय निर्देशन समितिसहित विभिन्न १५ समिति गठन गरेको छ।
पार्टी सभापति गगनकुमार थापाको संयोजकत्वमा केन्द्रीय निर्देशन समिति गठन गरिएको हो। समितिमा उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्री प्रदीप पौडेल र गुरुराज घिमिरे, कोषाध्यक्ष उमेश श्रेष्ठसहित ११ सदस्य छन्। प्रमुख राजनीतिक सल्लाहकार प्रताप पौडेल सदस्यसचिव छन्।
महाधिवेशनका विभिन्न पक्षको व्यवस्थापन, समितिहरूबीच समन्वय तथा आवश्यक निर्णयको संयोजन गर्न निर्देशन समिति बनाइएको कांग्रेसले जनाएको छ।
आर्थिक व्यवस्थापन समितिको संयोजकमा कोषाध्यक्ष उमेश श्रेष्ठ र सूचना, सञ्चार तथा प्रविधि समितिको संयोजकमा प्रवक्ता देवराज चालिसे छन्। सचिवालय व्यवस्थापन तथा सूचना समन्वय समितिको संयोजक उदयशमशेर राणा तोकिएका छन्।
त्यस्तै, अतिथि स्वागत समितिको संयोजकमा सहमहामन्त्री डा. डिला संग्रौला पन्त, समारोह स्थल व्यवस्थापनमा काठमाडौं जिल्ला सभापति, प्रदेश तथा स्थानीय तहगत समन्वयमा सहमहामन्त्री बहादुरसिंह लामा, ज्येष्ठ महाधिवेशन प्रतिनिधि समन्वयमा सुधीर शिवाकोटी र स्वयंसेवक व्यवस्थापनमा केन्द्रीय सदस्य गणेश लामा छन्।
भोजन व्यवस्थापन समितिको संयोजकमा केन्द्रीय सदस्य तिलक रानाभाट, आवास व्यवस्थापनमा रमेशप्रसाद धमला, स्वास्थ्यमा डा. केदारनरसिंह केसी, यातायात व्यवस्थापनमा विजयबहादुर स्वाँर तथा सांस्कृतिक–साहित्यिक संयोजन समितिको संयोजकमा केन्द्रीय सदस्य सीता गुरुङ तोकिएका छन्।
यसैगरी, विधान मस्यौदा समितिमा केन्द्रीय सदस्य ईश्वरी न्यौपाने र अधिवक्ता प्रमिस खनाललाई थप सदस्य बनाइएको कांग्रेसले जनाएको छ।
सभापति थापाको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति यसअघि नै गठन भइसकेको थियो। महाधिवेशन व्यवस्थापनलाई व्यवस्थित बनाउन विभिन्न समितिहरू गठन गरिएको कांग्रेसले जनाएको छ।