बाजुरा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बाजुराका ६७ वडा र सात स्थानीय तहमा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ।
जिल्लाका ६९ वडामध्ये ६७ वडा र नौ स्थानीय तहमध्ये सात पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको नेपाली कांग्रेस बाजुराका उपसभापति पदम बडुवालले जानकारी दिए।
उनका अनुसार गौमुल गाउँपालिका–४ र ५ बाहेक जिल्लाका अन्य सबै वडामा अधिवेशन सम्पन्न भएको छ।
पालिका अधिवेशनअन्तर्गत हिमाली गाउँपालिकाको सभापतिमा चन्द्रादेवी बुढा, खप्तड छेडेदहमा हर्कबहादुर शाही र स्वामीकार्तिक खापर गाउँपालिकामा विष्णु बुढा सर्वसम्मत चयन भएका छन्।
त्यस्तै, जगन्नाथ गाउँपालिकामा कपुर गिरी, बूढीनन्दामा टेकबहादुर रोकाया, बडीमालिका नगरपालिकामा उमाकान्त उपाध्याय र गौमुल गाउँपालिकामा गोरख रोकाया सभापति चयन भएका छन्।
अब त्रिवेणी र बूढीगङ्गा नगरपालिकामा नेतृत्व चयन गर्न बाँकी छ। ती दुवै स्थानीय तहमा पनि सर्वसम्मत नेतृत्व चयनका लागि सहमतिको प्रयास भइरहेको उपसभापति बडुवालले बताए।