काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको क्षेत्रीय अधिवेशन स्थगित भएको छ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा क्षेत्र नम्बर २ काभ्रेपलाञ्चोकले असोज ९ गतेका लागि तय गरेको मनोनयन तथा असोज १० गतेका लागि निर्धारित प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन स्थगित गरेको हो ।
क्षेत्रीय सभापति महेश खरेलका अनुसार पछिल्ला दिनमा भइरहेको निरन्तर वर्षा र आगामी केही दिन पनि वर्षा जारी रहने मौसम पूर्वानुमानका कारण अधिवेशन स्थगित गरिएको हो ।
मौसमको प्रतिकूल अवस्थालाई ध्यानमा राख्दै सतर्क रहन मौसम पूर्वानुमान महाशाखालगायत सम्बन्धित निकायले सूचना जारी गरेका छन् । कांग्रेस केन्द्रीय समितिले पनि मौसमको अवस्था हेरेर असोज १३ गतेभित्र अधिवेशन सम्पन्न गर्ने गरी समयसीमा तोकेको छ ।
सोहीअनुसार क्षेत्र नम्बर २ को अधिवेशन हाललाई स्थगित गरिएको सभापति खरेलले बताए । उनका अनुसार अधिवेशनको नयाँ मिति अर्को सूचना जारी गरेर सार्वजनिक गरिनेछ ।
क्षेत्र नम्बर १ को अधिवेशन पनि स्थगित हुने सम्भावना
काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा क्षेत्र नम्बर १ को क्षेत्रीय अधिवेशन पनि स्थगित गर्ने तयारी भइरहेको छ ।
यस विषयमा निर्णय गर्न आज बिहान पदाधिकारीको बैठक बस्दैछ । क्षेत्र नम्बर १ का सभापति दिनेश लामाका अनुसार बिहान १० बजे बस्ने बैठकले अधिवेशनबारे आवश्यक निर्णय गर्नेछ ।
उनले मौसम पूर्वानुमानअनुसार असोज ११ गतेसम्म वर्षाको सम्भावना रहेकाले क्षेत्र नम्बर १ को अधिवेशन पनि स्थगित हुनसक्ने बताए ।