काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले जलवायु न्याय, विश्वव्यापी आर्थिक असमानता र विद्यमान अन्तर्राष्ट्रिय व्यवस्थामाथि प्रश्न उठाएका छन्।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले कमजोर तथा जोखिममा रहेका मुलुकहरूले आवश्यक सहयोगका लागि लामो समय कुर्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताए।
‘कमजोर तथा जोखिममा रहेका देशहरूले वर्षौंसम्म आफूलाई आवश्यक सहयोगका लागि प्रतीक्षा गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘घर जलिरहेको बेला हामी कुनै परिवारलाई ५० वटा फारम भर्न लगाउँदैनौँ। हामी तत्काल काम गर्छौँ। जलवायु न्यायको अर्थ पनि यही हुनुपर्छ।’
उनले वर्तमान अन्तर्राष्ट्रिय व्यवस्थाको स्वरूपबारे पनि प्रश्न उठाए। ‘यसले मलाई एउटा ठूलो प्रश्नतर्फ ल्याउँछ– तपाईंहरू कस्तो अन्तर्राष्ट्रिय व्यवस्था चाहनुहुन्छ ?’ उनले भने।
संयुक्त राष्ट्रसंघ दुईवटा विनाशकारी विश्वयुद्धको अनुभवपछि स्थापना भएको स्मरण गर्दै शाहले यसको मूल उद्देश्य सार्वभौमिकता र अन्तर्राष्ट्रिय कानुनको सम्मान स्थापित गर्नु तथा प्रत्येक मानवको गरिमा सुनिश्चित गर्नु रहेको बताए। शक्तिशाली मुलुकले गरेका निर्णय कमजोर देशहरूले चुपचाप स्वीकार गर्नुपर्ने अवस्था अन्त्य गर्नु अन्तर्राष्ट्रिय व्यवस्थाको उद्देश्य हुनुपर्ने उनको भनाइ थियो।
तर अहिले अन्तर्राष्ट्रिय प्रणाली दबाबमा रहेको भन्दै उनले सैन्य तथा आर्थिक शक्तिले कसको आवाज सुनिने भन्ने निर्धारण गर्ने अवस्था देखिएको बताए।
‘नेपालको विश्वास छ– हामीलाई अझ न्यायपूर्ण विश्वव्यापी आर्थिक व्यवस्था आवश्यक छ,’ उनले भने।
प्रधानमन्त्री शाहले सन् १९९४ को संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी)को मानव विकास प्रतिवेदनलाई समेत उद्धृत गरे। उक्त प्रतिवेदनले ‘मानवीय सुरक्षा’को अवधारणा अघि सार्दै सुरक्षालाई भूगोलभन्दा मानिससँग र विकासलाई हतियारभन्दा बढी महत्व दिएको उनले बताए।
मानिसलाई डर र अभावबाट स्वतन्त्र बनाउन ‘शान्ति लाभांश’ आवश्यक रहेको प्रतिवेदनको अवधारणासमेत उनले स्मरण गरे।
नेपालमा भएको पछिल्लो राजनीतिक परिवर्तनको प्रसंग उल्लेख गर्दै शाहले नयाँ बहुमतको सरकार देशको इतिहासकै सबैभन्दा निष्पक्ष र शान्तिपूर्ण निर्वाचनबाट निर्वाचित भएको दाबी गरे। सरकार गठन भएयता नेपालले विभिन्न अन्तर्राष्ट्रिय चुनौतीको सामना गरिरहेको उनले बताए।
सामान्य नेपाली नागरिकले भोगिरहेका दैनिक समस्यातर्फ ध्यानाकर्षण गराउँदै शाहले प्रश्न गरे, ‘नेपालको एक गरिब किसानले मनसुनका लागि बीउ र मल चाहेका बेला ती समयमै पुग्छन् त ?’
नयाँ राजमार्ग निर्माणका लागि आवश्यक सामग्री खरिद गर्दा समस्या हुने तथा परिवार साँझको खाना खान बस्दा खाना पकाउने ग्यासको अभाव हुने अवस्थासमेत नेपालीले भोगिरहेको उनले बताए।
एकातर्फ हिमनदीहरू पग्लिरहेको र बाढीका कारण कृषि बाली नष्ट भइरहेको तथा अर्कोतर्फ विश्वव्यापी आपूर्ति शृंखलामा देखिएका समस्याले गरिब जनतालाई उनीहरूको नियन्त्रणभन्दा बाहिरका कारणले प्रभावित पारिरहेको शाहले बताए।
उनले विश्वव्यापी आपूर्ति प्रणालीमा देखिएको असमानतामाथि प्रश्न उठाउँदै भने, ‘अन्तरमहादेशीय क्षेप्यास्त्रहरू समयमै पुग्छन्, राइफल तथा गोलीगठ्ठा सीमापार सहजै पुग्छन् र हरेक अवरोधले आफ्नो समयसीमा पूरा गर्छ । तर आवश्यक परेको समयमा नेपालले बजार मूल्य तिरेर पनि मल वा इन्धन खरिद गर्न सक्दैन।’