काठमाडौं । नेकपा (एमाले)ले पुरानो संसद् पुनःस्थापनासम्बन्धी विचाराधीन मुद्दा यथाशक्य छिटो टुंग्याउन सर्वोच्च अदालतलाई आग्रह गरेको छ।
बिहीबार ललितपुरमा सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले उक्त मुद्दामा शीघ्र फैसला गर्न अदालतलाई आग्रह गरेको सचिव महेश बस्नेतले बताए। उनका अनुसार बैठकले संसद् विघटनको प्रक्रिया असंवैधानिक रहेको र त्यसपछि गठन भएको अन्तरिम सरकार तथा गराइएको निर्वाचनमाथि समेत संवैधानिक प्रश्न उठाएको छ।
‘प्राकृतिक न्यायको सिद्धान्तले समयमै न्याय नहुनु भनेको अन्याय हुनु सरह हो,’ बस्नेतले भने।
उनले लामो समयदेखि अदालतमा विचाराधीन रहेको संसद् पुनःस्थापनाको मुद्दा अझै टुंगिन नसकेको भन्दै उचित र न्यायपूर्ण फैसला गर्न माग गरिएको बताए। संसद् विघटनपछि भएका राजनीतिक गतिविधि र निर्वाचनका विषयमा समेत गम्भीर संवैधानिक प्रश्न रहेको एमालेको निष्कर्ष रहेको उनको भनाइ छ।
बस्नेतले सरकार महँगी नियन्त्रण र विपद् प्रतिकार्यमा समेत प्रभावकारी हुन नसकेको आरोप लगाए।