काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले सशस्त्र प्रहरी उपरीक्षक (एसपी) लाई धम्की दिएको भनिएको अडियो प्रकरणबारे तत्काल निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेकी छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै संग्रौलाले सार्वजनिक भएको भनिएको उक्त अडियोले राज्यका सुरक्षा निकाय र निजामती सेवाबीचको चेन अफ कमान्ड तथा मर्यादामाथि प्रश्न उठाएको बताइन्। अडियोमा सशस्त्र प्रहरीका महानिरीक्षकदेखि गृहमन्त्रीसम्मलाई लक्षित गर्दै धम्कीपूर्ण भाषा प्रयोग गरिएको उनको भनाइ थियो।
‘एउटा भन्सार अधिकृतले गृहमन्त्रीलाई नै हान्ने क्षमता राख्छन् भने यो सदनमा हामी के गरिरहेका छौं ?’ उनले प्रश्न गरिन्।
संग्रौलाले ‘स्वाट्टै हान्छु’ भन्ने अभिव्यक्तिको आशयसमेत स्पष्ट हुनुपर्ने बताउँदै घटनाको सत्यतथ्य छानबिन गर्न माग गरिन्। राजस्व चुहावट नियन्त्रणमा खटिएका सुरक्षाकर्मीको मनोबल गिराउने तथा राज्यका उच्च पदाधिकारीलाई चुनौती दिने कार्य स्वीकार्य नहुने भन्दै उनले दोषी देखिए कानुनअनुसार कारबाही गर्न सरकारको ध्यानाकर्षण गराइन्।