काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरिमोहन भण्डारीले संघीय संसद् भवनको क्यान्टिनमा खाजा महँगो भएको गुनासो गरेका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै भण्डारीले क्यान्टिनको मूल्य अस्वाभाविक रूपमा महँगो रहेको भन्दै सांसदको भत्ताले समेत खानपानको खर्च धान्न कठिन भएको बताए। उनले क्यान्टिनको मूल्य र गुणस्तरमा ध्यान दिन संसद् सचिवालयको ध्यानाकर्षण गराए।
‘क्यान्टिनमा रेटको कुनै तालमेल छैन। खाजा महँगो छ, जसले गर्दा माननीयहरूले सास्ती भोग्नुपरेको छ,’ भण्डारीले भने।
क्यान्टिनमा लामखुट्टेको प्रकोपसमेत बढेको भन्दै उनले तत्काल सुधारका लागि पहल गर्नुपर्ने बताए। साथै, आफ्नो निर्वाचन क्षेत्रमा प्राकृतिक विपत्तिका कारण जनजीवन प्रभावित भएको विषयसमेत उनले संसद्मा उठाए।