काठमाडौँ । नेपाली कांग्रेसले १८ वर्ष उमेर पूरा नगरेका व्यक्तिलाई पार्टीको सदस्यता नदिन निर्देशन दिएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले विज्ञप्ति जारी गर्दै पार्टी विधानअनुसार सदस्यता प्राप्त गर्न १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था रहेको स्पष्ट पारेका हुन्।
विज्ञप्तिअनुसार इलामको माइजोगमाई गाउँपालिका–५ को वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित सुजल चापागाईँ १८ वर्ष पुग्न केही महिना बाँकी रहेको विवरण समितिले प्राप्त गरेको थियो। सोही आधारमा उनको क्षेत्रीय प्रतिनिधिको जिम्मेवारी हाललाई स्थगन गरिएको समितिले जनाएको छ।
चापागाईँको नागरिकता विवरणअनुसार आगामी २०८३ माघ १८ गते उनी १८ वर्ष पूरा हुनेछन्। त्यसपछि उनले चाहेमा पार्टीको सदस्यता कायम गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ।
समितिले अन्य जिल्लाका वडा तहका अधिवेशनमा पनि १८ वर्ष उमेर नपुगेका व्यक्ति उम्मेदवार बनेर निर्वाचित भएको पाइएमा त्यस्ता निर्वाचनको कार्यान्वयन नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।