काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद सीता थपलियाले अभिव्यक्ति स्वतन्त्रता संकुचित हुँदै गएको, नागरिकमा निराशा बढेको र पूर्वाधार व्यवस्थापन कमजोर रहेको भन्दै सरकारको आलोचना गरेकी छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले काठमाडौंको त्रिपुरेश्वरमा भएको आत्मदाहको घटनादेखि धादिङमा सडक सम्पर्क विच्छेद हुँदासम्मका विषयमा सरकारको ध्यानाकर्षण गराइन्। त्रिपुरेश्वरमा ट्राफिक प्रहरीसँगको विवादपछि चालकले गरेको आत्मदाहको घटनाले राज्य संयन्त्रको कार्यशैलीमाथि प्रश्न उठाएको उनको भनाइ थियो।
अभिव्यक्ति स्वतन्त्रताको प्रसंगमा राजनीतिक विश्लेषक भरत दाहालको पक्राउप्रति आपत्ति जनाउँदै थपलियाले भनिन्, ‘हतकडीले हात बाँध्न सकिएला, विचार बाँध्न सकिँदैन।’ सरकारले आलोचना सुन्ने र सहन सक्ने क्षमता राख्नुपर्ने उनको तर्क थियो।
सम्बोधनका क्रममा उनले बीपी कोइरालाको भनाइ उद्धृत गर्दै भनिन्, ‘समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन।’ सय दिनमा फरक काम गर्ने दाबी गरेको सरकारले कार्यकालको आधा वर्ष बित्दासमेत नागरिकको जीवनस्तरमा सुधार ल्याउन नसकेको भन्दै उनले चिन्ता व्यक्त गरिन्।