काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार सदस्यहरूको डाटा सेन्टरमा देखिएको प्राविधिक समस्या समाधान भएपछि आज असोज ६ गतेदेखि नियमित धितोपत्र कारोबार पुनः सञ्चालन हुने भएको छ।
नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीका अनुसार कारोबार सदस्यहरूको डाटा सेन्टरका रूपमा रहेको डाटा हब प्रालिमा देखिएको प्राविधिक समस्या समाधान भएको जानकारी प्राप्त भएपछि पूर्ववत् रूपमा कारोबार सञ्चालन गर्न लागिएको हो।
डाटा सेन्टरमा प्राविधिक समस्या देखिएपछि नेप्सेले असोज ५ गतेको नियमित कारोबार स्थगित गरेको थियो। समस्या समाधान नभई कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने जोखिम देखिएपछि कारोबार रोक्ने निर्णय गरिएको थियो।
यसैबीच, नेपाल धितोपत्र बोर्डले कारोबार स्थगित हुनुपर्नाको कारणबारे अध्ययन तथा जाँचबुझ गर्न नेप्सेलाई निर्देशन दिएको छ। बोर्डले भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुधारका उपायसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिँदै उपकार्यकारी निर्देशकको नेतृत्वमा पाँच सदस्यीय निरीक्षण टोलीसमेत खटाएको छ।
डाटा सेन्टरको समस्या समाधान भएसँगै कारोबार पुनः सञ्चालन हुने भए पनि प्राविधिक समस्या उत्पन्न हुनुको वास्तविक कारण र त्यसबाट सिर्जना हुन सक्ने प्रणालीगत जोखिमबारे भने अझै पहिचान हुन सकेको छैन।