मकवानपुर। जंगली जनावरले मकै, गहुँ, कोदोलगायत अन्नबाली नष्ट गर्न थालेपछि भीमफेदी गाउँपालिका–७ कोगटेका किसान रमेश रानामगरले परम्परागत खेतीको विकल्प खोजे । अन्नबालीबाट अपेक्षित आम्दानी लिन नसकेपछि सुरु गरेको सिल्भर डलर खेती अहिले उनको आम्दानीको नयाँ आधार बनेको छ ।
रानामगरले ३१ रोपनीमा करिब दुई हजार सिल्भर डलरका बिरुवा लगाएका छन् । एउटा बिरुवाको मूल्य करिब १ हजार ४ सय रुपैयाँ पर्ने उनले बताए । रोपेको सात–आठ महिनामै पहिलोपटक हाँगा काट्न सकिने भएकाले छोटो समयमै उत्पादन लिन सकिने उनको अनुभव छ ।
‘मकै, गहुँ, कोदो, फापर लगाउँदा जंगली जनावरले नष्ट गरिदिन्थे । त्यसपछि केही नयाँ खेती गर्नुपर्छ भनेर सिल्भर डलर लगाउन थालेँ,’ रानामगरले भने ।
कोगटेमा अहिले चार किसानले करिब एक सय रोपनीमा यसको व्यावसायिक खेती गरिरहेका छन् । कोगटेकै अर्का किसान वासुदेव चुनी मगरले गत फागुनमा तीन सय बिरुवा खरिद गरी चार रोपनीमा खेती सुरु गरेका हुन् । करिब ४ लाख ४७ हजार रुपैयाँ लगानी गरेका उनले उत्पादन लिन थालिसकेका छन् । हालसम्म दुई सय किलोग्रामभन्दा बढी बिक्री गरिसकेको उनले बताए ।
चुनी मगरका अनुसार सिल्भर डलर प्रतिकिलो करिब ३ सय रुपैयाँमा बारीबाटै बिक्री हुन्छ । पहिलोपटक हाँगा काटेपछि गोडमेल र स्याहारअनुसार प्रत्येक एक–दुई महिनामा उत्पादन लिन सकिन्छ । राम्रो स्याहार गरे एउटै बोटबाट लामो समयसम्म हाँगा उत्पादन गर्न सकिने उनको भनाइ छ ।
सुरुवाती लगानी भने किसानका लागि चुनौतीपूर्ण छ । बिरुवा खरिदसँगै जग्गा तयारी, सिँचाइ र गोडमेलमा खर्च हुन्छ । खेती विस्तार गर्न चाहने किसानलाई प्राविधिक ज्ञान, रोग–कीरा नियन्त्रण, कटाइ तथा बिरुवा व्यवस्थापनमा सहयोग आवश्यक रहेको रानामगर बताउँछन् ।
अस्ट्रेलियाको रैथाने मानिने सिल्भर डलर युकालिप्टस प्रजातिको सुगन्धित वनस्पति हो । चाँदीजस्तो देखिने गोलाकार पातसहितका हाँगा फूलका बुके, माला तथा घर, होटल, रेस्टुरेन्ट र विभिन्न समारोहको सजावटमा प्रयोग हुन्छन् । पातबाट सुगन्धित तेल निकालेर अरोमा थेरापीमा समेत प्रयोग गरिन्छ ।
चिसो हावापानीमा राम्रो हुने भएकाले नेपालको एक हजारदेखि एक हजार पाँच सय मिटर उचाइका मध्यपहाडी क्षेत्रमा यसको व्यावसायिक खेतीको सम्भावना रहेको किसान तथा वनस्पतिविज्ञको भनाइ छ ।
सिल्भर डलरको बजार खोज्न समस्या नरहेको रानामगर बताउँछन् । उत्पादित हाँगा बारीबाटै बिक्री हुने गरेको र मागअनुसार उत्पादन पुर्याउन भने कठिन भइरहेको उनको भनाइ छ ।
‘उत्पादन बढाउन सके बजारको समस्या हुँदैन । अहिले त मागअनुसार उत्पादन पुर्याउनै गाह्रो छ,’ रानामगरले भने ।
भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाका अनुसार कोगटेमा सिल्भर डलर खेतीप्रति किसानको आकर्षण बढिरहेको छ । गाउँपालिकाले यसको व्यावसायिक प्रवर्द्धन तथा किसानलाई प्रोत्साहन गर्ने योजना अघि बढाएको उनले बताए ।
किसानले भने सरकारी अनुदान, प्राविधिक सहयोग र गुणस्तरीय बिरुवाको सहज उपलब्धता आवश्यक रहेको बताएका छन् । खेती विस्तारका लागि बजारसँगै उत्पादन प्रविधि र बिरुवा व्यवस्थापनमा समेत सहयोग आवश्यक रहेको रानामगरको भनाइ छ ।
परम्परागत खेतीबाट अपेक्षित आम्दानी लिन नसकेका कोगटका किसानका लागि सिल्भर डलर नयाँ विकल्पका रूपमा देखिएको छ ।