काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विपद् व्यवस्थापनमा कृत्रिम बुद्धिमत्ता (एआई), भू–उपग्रह, ड्रोन र रोबोटिक्सको प्रयोग बढाउने तयारी भइरहेको बताएका छन्।
बुधबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री पुनले एआई र भू–उपग्रह प्रविधिमा आधारित पूर्वचेतावनी प्रणाली विकास गर्नुका साथै विपद्को वास्तविक समयको निगरानी र पूर्वानुमानका लागि ‘सिचुएसन रुम’ निर्माणको काम अघि बढाइएको जानकारी दिए।
विपद् उद्धारमा ड्रोन र रोबोटिक्सको उपयोगिता बढेकाले नेपालमै भारी क्षमताका ड्रोन उत्पादन गर्ने सम्भावनाबारे मन्त्रालयले काम गरिरहेको उनले बताए। उनका अनुसार चीन र संयुक्त अरब इमिरेट्स (यूएई) बाट ८० देखि १०० किलोसम्म सामग्री बोक्न सक्ने ड्रोन सहयोगस्वरूप प्राप्त भएका छन्।
हिमताल विस्फोट, पहिरो तथा भूकम्प मापनसम्बन्धी अनुसन्धानलाई व्यावहारिक प्रयोगमा ल्याउने तयारी भइरहेको जानकारी दिँदै पुनले वैज्ञानिक प्रयोगशाला तथा मापन केन्द्रहरूको मर्मत, सम्भार र पुनःस्थापनालाई प्राथमिकता दिइएको बताए।
बैठकमा उनले रसुवा बाढीपछि राहत सामग्री व्यवस्थापन तथा मृतकको पहिचानका लागि भइरहेको डीएनए परीक्षणबारे पनि जानकारी दिए। उनका अनुसार राष्ट्रिय विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) मा दैनिक ४० देखि ५० नमुना परीक्षण भइरहेको छ भने राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा मृतकका १ हजार ५६२ वटा डीएनए नमुना प्राप्त भएका छन्।
बुटवलमा सम्पर्कविहीन व्यक्तिका आफन्तबाट ९८ जनाको डीएनए नमुना संकलन तथा परीक्षणको प्रक्रिया अघि बढाइएको उनले बताए। परीक्षणमा नेपाली टोलीसँगै भारतका नौ र चीनका १५ विज्ञ तथा प्राविधिक संलग्न रहेको पुनले जानकारी दिए।
उनले विदेशी सरकारबाट प्राप्त राहत सामग्री बुझ्ने र व्यवस्थापन गर्ने काम पनि भइरहेको बताए। साथै, नास्टले साना सौर्य बत्ती एसेम्बल गरी आवश्यक स्थानमा पठाउने काम गरिरहेको जानकारी दिए।