काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सभाबारे आफूले दिएको अभिव्यक्तिप्रति माफी मागेकी छिन्।
बुधबार राष्ट्रिय सभाको बैठकमा स्पष्टीकरण दिँदै गौतमले राष्ट्रिय सभाले कानून निर्माणमा असहयोग गरेको आफूले नभनेको बताइन्। जेनजी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व नभएका कारण कानून निर्माणमा समस्या भइरहेको आशयको अभिव्यक्ति दिएको भन्दै उनको आलोचना भएको थियो।
गौतमले आफूले कानून निर्माण प्रक्रिया जटिल रहेको तथ्य मात्र प्रस्तुत गरेको बताइन्। राजनीतिक व्यक्ति भएकाले आफ्नो भनाइलाई समाचार र सामाजिक सञ्जालमा विभिन्न कोणबाट व्याख्या गरिएको उनको भनाइ थियो।
‘मैले राष्ट्रिय सभाले कहीँ कतै असहयोग गर्यो भनेर कहीँ कतै त्यस्तो भाषा, शब्द प्रयोग गरेको छैन,’ उनले भनिन्।
उनले प्रतिनिधिसभामा दुई तिहाइ बहुमत भए पनि कानून निर्माणको प्रक्रिया प्रतिनिधिसभाबाट मात्रै पूरा नहुने बताइन्। प्रतिनिधिसभा र राष्ट्रिय सभा हुँदै राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्रै कानून बन्ने उनको भनाइ थियो।
गौतमले प्रतिनिधिसभा र राष्ट्रिय सभाबीचको समन्वय तथा सहकार्यलाई अझ प्रभावकारी बनाउन आफूहरू प्रतिबद्ध रहेको पनि बताइन्।