मकवानपुर । जिल्ला भूमि समस्या समाधान समिति मकवानपुरले मकवानपुरगढी गाउँपालिका–३ का ६ भूमिहीन सुकुम्वासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ।
लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका परिवारले पुर्जा पाएसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्। जग्गाधनी पुर्जा प्राप्त भएपछि स्थानीयले आफ्नो बसोबास तथा सम्पत्तिमाथिको कानुनी अधिकार सुनिश्चित भएको बताएका छन्।
सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई प्राथमिकतामा राख्दै आएको छ। सोही लक्ष्यअनुसार भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई कानुनी रूपमा जग्गाधनी बनाउने प्रक्रिया अघि बढाइएको हो।
भूमिसम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गर्ने उद्देश्यले लालपुर्जा वितरणलाई थप प्रभावकारी र व्यवस्थित बनाउँदै लगिएको समितिले जनाएको छ।