काठमाडौं। रसुवाको बाढीपछि माथिल्लो त्रिशूली–३ बी जलविद्युत् आयोजनामा सम्पर्कविहीन १७८ कर्मचारी तथा श्रमिकको खोजी र उद्धारलाई प्राथमिकतामा राख्न माग गर्दै आफन्तले सोमबार माइतीघरमा प्रदर्शन गरेका छन् ।
प्रदर्शनकारीले सरकारले आयोजनामा खोजी तथा उद्धारका लागि पर्याप्त चासो नदिएको र आफन्तलाई समेत घटनास्थलमा पुगेर खोजी गर्न नदिएको आरोप लगाए । बाढीले आयोजनाको संरचनामा ठूलो क्षति पुर्याएको छ भने सरकारले उद्धारका लागि घटनास्थलको भौतिक संरचनासमेत पहिचान गर्न नसकेको बताउँदै आएको छ ।
सम्पर्कविहीनमध्ये वरिष्ठ भूगर्भविद् सुमेश अमात्यकी श्रीमती सुमना श्रेष्ठ अमात्यले पटकपटक गृह मन्त्रालयमा ध्यानाकर्षण गराउँदा पनि सरकारले चासो नदिएको बताइन् । ‘सरकारले रेस्क्यु गर्न नै जानेको रहेनछ, कुटो कोदालो बोकेर रेस्क्यु गर्न जाने हो,’ उनले भनिन् ।
आफन्तले हेलिकप्टरसहित आवश्यक उपकरण परिचालन गरी तत्काल खोजी तीव्र पार्न र जीवित भए सकुशल उद्धार तथा मृत्यु भइसकेको भए शव भए पनि आफन्तलाई बुझाउन माग गरेका छन् । उनीहरूले आवश्यक परे अन्तर्राष्ट्रिय सहयोग लिएर खोजी अघि बढाउनसमेत आग्रह गरेका छन् ।
प्रदर्शनकारीले ‘त्रिशूली–३ बीलाई प्राथमिकता दिनुस्’, ‘१३ दिन भइसक्यो, उद्धारको सूचना खै ?’ लगायतका नारासहित प्लेकार्ड बोकेका थिए ।