काठमाडौं । बडादसैँको अवधिमा काठमाडौं उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने एक हजार ३७ जना चालक कारबाहीमा परेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कात्तिक ७ गतेसम्मको १४ दिनमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने एक हजार दुई जना र लागुपदार्थ सेवन (लापसे) गरी सवारी चलाउने ३५ जना चालकलाई कारबाही गरिएको हो।
कार्यालय प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार मापसे गरी सवारी चलाउनेमध्ये ५९ जना सार्वजनिक सवारीसाधनका चालक रहेका छन्। त्यस्तै, लापसे गरी सवारी चलाएको अभियोगमा कारबाहीमा परेका ३५ जना नै सार्वजनिक सवारीसाधनका चालक रहेको उनले बताए।
चाडपर्वका बेला यात्रुको आवागमन र सवारीसाधनको चाप बढ्ने भएकाले मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटनाको जोखिम थप बढ्ने ट्राफिक प्रहरीको भनाइ छ। यस्तो गतिविधि नियन्त्रण गर्न उपत्यकाका विभिन्न स्थानमा निगरानी र चेकजाँचलाई तीव्र बनाइएको कार्यालयले जनाएको छ।
प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले सवारी दुर्घटना न्यूनीकरण र यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर मापसे तथा लापसे गरी सवारी चलाउने चालकविरुद्धको कारबाहीलाई निरन्तरता दिइएको बताए।
नेपालमा मादक पदार्थ वा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउन कानुनले निषेध गरेको छ। सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ लगायत प्रचलित कानुनी व्यवस्थाअनुसार यस्तो कसुर गर्ने चालकलाई कारबाही गरिन्छ।
ट्राफिक प्रहरीले चाडपर्वका समयमा सवारी चलाउँदा मादक पदार्थ तथा लागुपदार्थ सेवन नगर्न, ट्राफिक नियमको पालना गर्न र सुरक्षित यात्रालाई प्राथमिकता दिन सबै चालकलाई आग्रह गरेको छ।