दमौली (तनहुँ)। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२, जामुनेमा आज तीन सवारीसाधन एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।
दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा १९ च १४७७ नम्बरको स्कारपिओ र विपरीत दिशाबाट आउँदै गरेको ग १ ज ९००८ नम्बरको ईभी माइक्रो सुरुमा एकआपसमा ठोक्किएका थिए। ठक्करपछि अनियन्त्रित भएको स्कारपिओ डिभाइडर नाघेर विपरीत लेनमा पुगेपछि पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ज ७५०१ नम्बरको टाटा सुमोसँग पुनः ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा ईभी माइक्रोका चालक शुक्लागण्डकी नगरपालिका–६ निवासी ३२ वर्षीय सुमन परियार र माइक्रोमा सवार व्यास नगरपालिका–१४ निवासी नौ वर्षीया जेनिशा परियार घाइते भएका छन्।
घाइते दुवै जनाको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए।