नेकपा ओली समूहका नेता तथा सांसद महेश बस्नेतले आफूहरुको पक्षमा संसदमा बुधबारबाट ९२ जना सांसद पुग्ने दाबी गरेका छन् ।
उनले अबको प्रधानमन्त्री पनि केपी शर्मा ओली नै हुने दाबी गरे । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता बस्नेतले जतिसक्दो पार्टी फुटाएर भएका सांसदहरु जोगाउनका लागि दाहाल–नेपाल समूहलाई सुझावसमेत दिएका छन् । उनले भने,‘जतिसक्दो पार्टी फूटाएर आफ्नो समूहमा भएका सांसदहरु जोगाउनुहोस् ।’
यस्तै केही दिनभित्रै ओलीको पक्षमा ११५ जना सांसद संख्या पुग्ने पनि उनले दाबी गरे । पूर्वमन्त्रीसमेत रहेका नेता बस्नेतले सर्वोच्च अदालतको प्रतिनिधिसभा पूनःस्थापनाको फैसला आएपछि ढंग नपुग्दा फेरि राजनीतिक अस्थिरता सुरु हुने र विकृति सुरु हुने बताए ।
‘यो कुरा क्रमशः पुष्टि हुँदैछ । कतिपय पर्दाभित्र पनि देखिएको छ । आजको मितिमा प्रधानमन्त्री केपी शर्मा ओली संकटमा हुनुहुन्न, बरु उहाँलाई संकटमा पार्न खोज्ने प्रचण्ड र माधव नेपाल संकटमा परेका छन्’ नेता बस्नेतले भनेका छन् ।
बस्नेतले प्रधानमन्त्री ओलीले अहिले परिस्थितिको आँकलन गरिरहेकोले भोलिको दिनमा अतिरिक्त कदम चाल्नुपर्ने अवस्था पनि आउने बताए ।
उनल भनेका छन्,‘दाहाल र नेपाल समूहका धेरै माननीयहरुले प्रधानमन्त्री ओलीलाई साथ दिनुहुन्छ । यसरी सम्पर्कमा आउनेहरुलाई हामीले सहजीकरण गर्छौं ।’
प्रधानमन्त्री ओलीको विकल्प अहिले कोही पनि नभएको समेत उनको जिकिर थियो । अब ओलीका समकालीन नेतामा अन्तिम राज ओलीले नै गर्ने र त्यसपछि युवाहरुले हस्तक्षेप गरेर मुलुकको नेतृत्व गर्ने सुनाए । उनले आफ्नो पुस्ताको नेता अबको १० देखि १५ वर्षभित्र प्रधानमन्त्री बन्ने पनि दाबी गरे ।
उनले प्रधानमन्त्री ओलीले सुरक्षा थ्रेटको महुशस गरेर नै यो कुरा बोलेको दाबी गरे । उनले भने,‘उहाँले सूचना पाएर नै सुरक्षा थ्रेटको कुरा बोल्नुभएको हो ।’ उनले विगतमा पनि नेपालमा राष्ट्रियता, विकास र समृद्धिको अभियानमा लाग्नेहरुमाथि यस्तो भएको भन्दै भीमसेन थापा, मदन भण्डारी, वीरेन्द्र शाहको वंशनाशको प्रंसग उल्लेख गरे । त्यस्तै, उनले सुशिल कोइरालाको मृत्युपनि प्रश्नको विषय भएको सुनाए ।