नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा भक्तपुर क्षेत्र नं. २ प्रतिनिधिसभाको एमालेको उम्मेदवार महेश बस्नेतले वर्तमान गठबन्धन सरकारले मुलुक र विकासको होलीडे मनाएको भन्दै आक्रोस जनाएका छन् ।
नेकपा एमाले सूर्यविनायक नगरकमिटी वडा नं. ५ ले आज आयोजना गरेको बृहत कार्यकर्ता भेला तथा उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै नेता बस्नेतले दिगो विकासको लागि केपी ओली नेतृत्वको सरकारले मुलुकलाई विकासन्मुख राष्ट्रको रुपमा स्थापीत गराएको स्मरण गराए ।
ओली नेतृत्वको सरकारले मुलुकलाई छिट्टै विकासित बनाउने अभियान चलाएता पनि वर्तमान गठबन्धन सरकारले विकासको विदा मनाइरहेको बस्नेतको दाबी छ ।
जनचाहनालाई लत्याउँदै विकासको बजेट कटौती गरी विकासलाई रोक्ने गठबन्धन सरकारलाई आगामी मंसिर ४ गते हुने निर्वाचनमा जनताले जनमत नदिएर सधैंको लागि विदा गर्ने दावी समेत गरे । मंसिर ४ पछि एमालेको नेतृत्वमा सरकार बन्ने उल्लेख गर्दै उनले उक्त सरकारले पुनः विकास र समृद्धिको लहर पैदा गर्ने बताए ।
उनले भने, ‘केपी ओली नेतृत्वको सरकारले साना तथा ठूलो र राष्ट्रिय गौरवका आयोजनाहरु व्यापक मात्रामा चलायमान भएका थिए । विभिन्न प्रकारका भौतिक पूर्वाधार निर्माणका कार्यक्रमहरुले जता ततै लहर नै छाएको थियो । तर गठबन्धन सरकार आएसँगै जनताले विकासको कुनै पनि योजना देख्न पाएको छैन । यो सरकार आएसँगै चाल आयोजनाहरु रोकिएका छन्, जनताले विकास देख्न पाएका छैनन् । विकास र मुलुकमा नै होलीडे बनेको छ । सरकारलाई विकासको त क्यान्सर नै लागेको छ । ‘
निर्वाचनमा एमालेको प्रतिष्पर्धि कुनै पनि पार्टी नभएको उल्लेख गर्दै उनले एमालेले चुनाव लड्नको लागि नभई जीतको औपचारिक घोषणाको लागि मात्र मंसिर ४ गते पर्खिएको उल्लेख गरे । एमाले नेतृत्वको सरकारको पालामा राष्ट्रियताको सवालमा विश्वलाई नेपालको शिर उचो बनाएको स्मरण गराउँदै उनले ओली नेतृत्वको सरकारले लिपुलेक, लिपिम्याधुरा र कालापानीसहितको चुच्चे नक्सालाई अहिलेको सरकारले बुच्चे बनाएको आरोप लगाए ।
वर्तमान सरकारले एमसीसी, एसपीपी, राष्ट्रघाती नागरिकता विधियक ल्याई मुलुकलाई सयौं वर्ष पछि धकेल्ने मात्र नभई शक्ति राष्ट्रहरुको खेलमैदानको रुपमा लैजान खोजेको उल्लेख गर्दै पूर्वमन्त्रीसमेत रहेका बस्नेतले आगामी निर्वाचनमा राष्ट्रघातीलाई चोट तथा राष्ट्रवादी एमालेलाई जनताले भोट दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य निर्मल भट्टराईले टेको लगाई पार्टीको बैससाखीले नेपाली कांग्रेसले समाजवादको लक्ष्य पुरा गर्न नसक्ने दावी गर्नुभयो । उद्योग बेच्नु नै कांग्रेसको लागि ठूलो उपलब्धी ठान्ने कांग्रेसले एमसीसीलाई सरकारको ठूलो उपलब्धी भन्दै घोषणा पत्रमा नै उल्लेख गर्नु राष्ट्रघाती कदम भएको बताए । रेलमार्ग, जलमार्ग, सुरुङमार्गलगायतका एमालेका एजेण्डाहरु कांग्रेसले चोरेको आरोप समेत लगाए ।