म्याग्दी– बाढी र नदी कटानका कारण जोखिममा परेको बेनी–दरवाङ सडकअन्तर्गत दुखुखोला पुल संरक्षणको काम जलविद्युत् आयोजनाको आर्थिक सहयोगमा सुरु गरिएको छ। मंगला गाउँपालिका–२ र मालिका गाउँपालिका–६ को सीमामा रहेको पुल संरक्षणका लागि म्याग्दी नदी बेसिनमा सञ्चालित जलविद्युत् आयोजनाहरूले साझेदारी गरेका हुन्।
दुखुखोलामा आएको बाढीले पुलको संरचनामा क्षति पुर्याएपछि पुल भासिने जोखिम बढेको छ। जोखिमलाई मध्यनजर गर्दै बढी तौलका सामान बोकेका ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
जिल्ला समन्वय समिति म्याग्दीकी कार्यवाहक प्रमुख डिलकुमारी खत्रीका अनुसार सरकारी प्रक्रियाबाट काम अघि बढाउँदा ढिलाइ हुने भएकाले जलविद्युत् आयोजनाहरूको करिब ५० लाख रुपैयाँ लगानीमा पुल संरक्षणको काम सुरु गरिएको हो।
उनका अनुसार पुल संरक्षणको काम सम्पन्न नभएसम्म ठूला सवारीसाधन सञ्चालनका लागि आवश्यक वैकल्पिक व्यवस्था मिलाउन स्थलगत अध्ययनसमेत गरिएको छ।
पुलको जगमुनिबाट खोला बग्न थालेको तथा पहुँचमार्गसमेत कटान भएर साँघुरिएको छ। यसले यात्रुवाहक सवारीसाधनसँगै जलविद्युत् आयोजनाका निर्माण सामग्री र उपकरण बोकेका ट्रकसमेत जोखिमपूर्ण रूपमा आवतजावत गर्नुपर्ने अवस्था सिर्जना भएको छ। पुलमा थप क्षति पुगेमा मालिका, धवलागिरि र तमानखोला गाउँपालिकाको बेनीसँगको प्रत्यक्ष यातायात सम्पर्क प्रभावित हुने देखिएको छ।
पुल संरक्षणका लागि ६५ मेगावाटको म्याग्दीखोला, ३७ मेगावाटको अपर म्याग्दी, ५३.५ मेगावाटको अपर म्याग्दी–१, २५ मेगावाटको दरवाङ म्याग्दीखोला, १४ मेगावाटको मुदीखोला र ६ मेगावाटको दरखोला जलविद्युत् आयोजनाले साझेदारी गर्ने सहमति गरेका छन्।
दुखुखोला पुल र फापरखेतको पहिरोका कारण जलविद्युत् आयोजनाहरूमा निर्माण सामग्री तथा उपकरण ढुवानीसमेत प्रभावित भएको छ। तत्कालीन जिल्ला प्राविधिक कार्यालयले संघीयता लागू हुनुअघि निर्माण गरेको उक्त पुल २० मिटर लामो र ६ मिटर चौडा छ।
२ करोड ६ लाख रुपैयाँ लागतमा २०७६ सालमा निर्माण सम्पन्न भएको पुल केही दिनअघि आएको बाढीपछि जोखिममा परेको हो।
मालिकाधुरीको फेदीमा मुहान रहेको दुखु ठाडोखोलामा आएको बाढीपछि पूर्वाधार विकास कार्यालय म्याग्दीले डोजर परिचालन गरी खोला डाइभर्सन गर्नुका साथै पर्खाल निर्माण गरेर पुलका पिलर र पहुँचमार्गको अस्थायी संरक्षण गरेको छ।