काठमाडौँ । जलस्रोत तथा जलविज्ञान अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी, त्रिशूलीलगायत आसपासका नदीमा आज पानीको सतह बढ्नुका साथै आकस्मिक बाढीको उच्च जोखिम रहेको जनाएको छ।
महाशाखाका बाढीविद् सरस्वती विष्टले रसुवा र नुवाकोट हुँदै बग्ने नदीका तटीय क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। उहाँका अनुसार नेपाल–चीन सीमा क्षेत्र नजिकै बनेको ताल जुनसुकै बेला फुट्न सक्ने भएकाले अर्को सूचना जारी नभएसम्म नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको हो।
विष्टले वर्षाको सम्भावनासमेत रहेकाले आज र भोलि रसुवा तथा नुवाकोटमा बाढीको जोखिम उच्च रहेको बताए।
उहाँका अनुसार ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, धादिङ, मकवानपुर, चितवन, गोरखा, तनहुँ, लमजुङ, मनाङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, सल्यान, सुर्खेत, जाजरकोट, दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर आसपासका नदी तथा खोलामा पनि पानीको सतह बढ्ने सम्भावना छ।
महाशाखाले ती जिल्लाका साना नदी तथा खोलामा समेत आकस्मिक बाढी आउन सक्ने भएकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा नदी किनार हुँदै यात्रा गर्ने सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।