चन्दा क्षेत्री /काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत मंगलबार भएका दुवै खेलमा चितवन राइनोज र कर्णाली याक्सले जित निकालेका छन् । चितवनले विराटनगर किङ्सलाई ८ रनले पराजित गर्दा कर्णालीले जनकपुर बोल्ट्समाथि १९ रनको जित दर्ता गर्यो ।
चितवनको जितमा डेविड मलानको अर्धशतक र कमल ऐरीको उत्कृष्ट बलिङ निर्णायक बन्यो । यता, कर्णालीको जितमा युवा बलर युनिशविक्रम सिंह ठकुरी र पाकिस्तानी अलराउन्डर हुसेन तलातले समान तीन विकेट लिए । जनकपुरका आइकोनिक खेलाडी राहुल यादवले डेब्यू खेलमै दुई विकेट लिँदै प्रभाव छाडे ।
मलानको अर्धशतक, कमलको चार विकेटमा चितवन विजयी
मंगलबारको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई ८ रनले हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको छ । चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमा अलआउट भयो ।
विराटनगरका लागि ओपनर इमरान शेखले सर्वाधिक ३९ रन बनाए । आन्द्रे रसेलले ३३ तथा लोकेश बमले २६ रनको योगदान दिए । एन्जेलो म्याथ्युजले १४ र बसिर अहमदले १३ रन जोडे पनि टोलीलाई जित दिलाउन सकेनन् ।
चितवनका कमल ऐरीले चार विकेट लिए । उनले चार ओभरमा २६ रन खर्चिए । रिजन ढकालले दुई विकेट लिँदा रञ्जित कुमार, टम टेलर, डान माउस्ली र मौसम ढकालले एक–एक विकेट लिए ।
यसअघि टस जितेर बलिङ रोजेको विराटनगरविरुद्ध चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १५७ रन बनाएको थियो ।
चितवनका ओपनर डेविड मलानले ५० बलमा पाँच चौका र पाँच छक्कासहित ७० रन बनाए । उनलाई आन्द्रे रसेलले बोल्ड गरेका थिए । अर्का ओपनर देव खनालले १२ तथा अर्जुन साउदले तीन रन बनाए ।
कप्तान रवि बोपारा र डान माउस्लीले अविजित रहँदै चितवनको इनिङलाई अघि बढाए । बोपाराले २६ बलमा एक चौका र दुई छक्कासहित ३२ रन बनाउँदा माउस्लीले २९ रन जोडे ।
विराटनगरका लागि एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ असलंकाले एक–एक विकेट लिए ।
युनिशको बलिङमा कर्णालीको जित
दिनको दोस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले हरायो । कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा ११३ रनमा समेटियो ।
कर्णालीको जितमा युनिशविक्रम सिंह ठकुरीले निर्णायक भूमिका खेले । उनले कप्तान हर्मीत सिंह र जिमी नीशमजस्ता महत्त्वपूर्ण ब्याटरलाई आउट गर्दै जनकपुरको जितको प्रयासमा बाधा पुर्याए । हुसेन तलतले पनि तीन विकेट लिएर कर्णालीको जित सुनिश्चित गर्न सहयोग गरे ।
जनकपुरका लागि मोइन अली र कप्तान हर्मीत सिंहले समान १९ रन बनाए । जिमी नीशमले १५, अनिल साहले ११ तथा अभिषेक तिवारीले २० रन जोडे । तर, नियमित अन्तरालमा विकेट गुमाउँदा जनकपुर लक्ष्यसम्म पुग्न सकेन ।
कर्णालीका लागि युनिशले तीन विकेट लिँदा हुसेन तलतले चार ओभरमा २६ रन खर्चेर तीन विकेट लिए । नन्दन यादवले दुई तथा सोमपाल कामीले एक विकेट लिए ।
यसअघि टस जितेर बलिङ रोजेको जनकपुरविरुद्ध कर्णालीले २० ओभरमा नौ विकेट गुमाएर १३२ रन बनाएको थियो ।
कर्णालीका अरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए । उनले २९ बलमा चार चौका प्रहार गरे । पवन सर्राफले ३७ बलमा तीन छक्कासहित ३७ रन जोडे । दीपक डुम्रेले १३ तथा गुल्सन झाले १२ रन बनाए ।
जनकपुरका कप्तान हर्मीत सिंहले तीन विकेट लिए । मोइन अली र राहुल यादवले दुई–दुई विकेट लिँदा ललित राजवंशीले एक विकेट लिए ।
जनकपुरका लागि डेब्यू गरेका राहुलले चार ओभरमा १५ रन खर्चेर दुई विकेट लिनु उनको टोलीका लागि सकारात्मक पक्ष बन्यो । यद्यपि, ब्याटिङमा अपेक्षित प्रदर्शन गर्न नसक्दा जनकपुरले प्रतियोगितामा पहिलो हार बेहोर्यो ।
बुधबार पोखरा र सुदूरपश्चिम आमनेसामने
एनपीएलअन्तर्गत बुधबार एक खेल हुनेछ । पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीचको खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुनेछ ।
पोखराले प्रतियोगितामा पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिम दोस्रो खेलमा मैदान उत्रनेछ । यसअघि सुदूरपश्चिम पहिलो खेलमा लुम्बिनी लायन्ससँग सात विकेटले पराजित भएको थियो ।
बुधबारको खेलमा पोखरा जितसहित प्रतियोगिताको सुरुवात गर्ने लक्ष्यमा हुनेछ भने सुदूरपश्चिम पहिलो हार बिर्सँदै पुनरागमनको प्रयासमा रहनेछ ।