जनकपुरधाम। हरवा–चरवा समुदायको अधिकार र पुनःस्थापनाको माग गर्दै जनकपुरधामस्थित मधेस भवनअगाडि सुरु गरिएको धर्ना एक सातादेखि जारी छ। हरवा–चरवा संघर्ष समिति मधेस प्रदेशको अगुवाइमा भइरहेको धर्नामा मधेसका आठवटै जिल्लाका प्रतिनिधि सहभागी छन्।
संघर्ष समितिले हरवा–चरवा परिवारको लगत संकलन, प्रमाणीकरण र परिचयपत्र वितरण तत्काल अघि बढाउन माग गरेको छ। भूमिहीनता र श्रम शोषणको चपेटामा रहेका समुदायको पहिचान गरी दिगो पुनःस्थापनाका लागि स्पष्ट कार्ययोजना स्वीकृत गरी कार्यान्वयन गर्नुपर्ने उनीहरूको माग छ।
समितिका सदस्य लागेन्द्र सदाका अनुसार सरकारले विगतमा हरवा–चरवाको अधिकार र पुनःस्थापनाबारे गरेका प्रतिबद्धता कार्यान्वयन नगरेपछि आन्दोलनमा उत्रिनुपरेको हो।
‘हामी एक सातादेखि आन्दोलित छौँ, तर सरकारी पक्षबाट हालसम्म कुनै सुनुवाइ भएको छैन,’ सदाले भने।
सरकारले माग सम्बोधन नगरे थप सशक्त आन्दोलन गर्ने चेतावनी समितिले दिएको छ। विगतका सम्झौता कार्यान्वयन गर्दै हरवा–चरवा समुदायको पुनःस्थापनाका लागि तत्काल ठोस कदम चाल्न समितिले सरकारको ध्यानाकर्षण गराएको छ।
माग सम्बोधन नभएसम्म धर्नालगायत दबाबमूलक कार्यक्रम जारी राख्ने समितिले जनाएको छ।