काठमाडौं। नेपाली काँग्रेसले बाढीपहिरो प्रभावितको खोजी, उद्धार तथा राहतमा देखिएका कमजोरी सुधार गर्दै जीवितको उद्धारलाई पहिलो प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराएको छ। मृत्यु भएकाहरूको शव आफन्तलाई बुझाई धार्मिक परम्पराअनुसार अन्त्येष्टि गर्ने अधिकार सुनिश्चित गर्न पनि काँग्रेसले आग्रह गरेको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको पदाधिकारी तथा सांसदहरूको संयुक्त बैठकले विपद् प्रभावितको उद्धार तथा राहतमा पार्टीका नेता–कार्यकर्ता र संगठनात्मक संयन्त्र परिचालन गर्दै सरकारलाई पूर्ण सहयोग गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले बताए।
बैठकमा विपद्पछिको खोजी, उद्धार र राहत वितरणको अवस्थाबारे समीक्षा गरिएको थियो। फिल्डबाट प्राप्त विवरणका आधारमा केही कमजोरी देखिएको भन्दै ती सुधारका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको चालिसेले बताए।
‘स्वास रहुञ्जेलसम्म उद्धारको कार्यलाई जारी राख्नुपर्यो,’ उनले भने, ‘यदि दिवंगत भइसकेको परिस्थिति छ भने शवको पनि धार्मिक परम्पराअनुसार अन्त्येष्टि गर्ने हरेक नागरिकको अधिकार छ।’
काँग्रेसले प्रभावित क्षेत्रमा जीवितको उद्धारलाई सर्वोच्च प्राथमिकतामा राख्न तथा पीडितको खानपान, स्वास्थ्य र शिक्षाको व्यवस्थामा गम्भीर ध्यान दिन सरकारलाई आग्रह गरेको छ। संकटको समयमा पार्टी सरकार र पीडित परिवार दुवैको साथमा रहेको चालिसेले बताए।
बैठकले प्रभावित क्षेत्रमा सरकारलाई सहयोग गर्न पार्टीको सम्पूर्ण संयन्त्र परिचालन गर्ने निर्णयसमेत गरेको छ।