काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विपद् व्यवस्थापनमा स्थानीय सरकारलाई नेतृत्वदायी भूमिका दिनुपर्ने बताएका छन्। बाढी–पहिरोपछि राहत वितरणमा स्थानीय आवश्यकता र प्रभावितको अवस्थाबारे बढी जानकार हुने भएकाले स्थानीय तहलाई ‘बाइपास’ गर्न नहुने उनको भनाइ छ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित पार्टीको विपद् व्यवस्थापनसम्बन्धी बैठकमा थापाले संघ, प्रदेश र स्थानीय सरकारबीच स्पष्ट कार्यविभाजनसहित प्रभावकारी समन्वय हुनुपर्ने बताए। संघीय सरकारले प्रदेश र स्थानीय तहलाई ‘टिम प्लेयर’का रूपमा लिएर विपद् व्यवस्थापन अघि बढाउनुपर्ने उनले बताए।
जाजरकोट भूकम्पलगायत विगतका विपद्बाट प्राप्त ज्ञान र अनुभवलाई संस्थागत गर्दै नीतिगत रूपमा अघि बढाउनुपर्नेमा उनले जोड दिए। पार्टीका कार्यकर्तालाई तालिम दिएर विपद्का बेला मैदानमा परिचालन गर्दा उद्धार तथा राहतमा थप सहयोग पुग्ने उनको भनाइ छ।
‘सरकार कहाँ चुकेको छ, त्यो देखाउनु हाम्रो कर्तव्य हो। कमजोरी नऔंल्याए नागरिकका समस्या सरकारसम्म पुग्दैनन्,’ थापाले भने।
प्रमुख प्रतिपक्षीका रूपमा विपद्को समयमा सरकारलाई पूर्ण साथ दिने तर कमजोरी सच्याउन खबरदारी पनि गरिरहने उनले बताए। कांग्रेसले बुझाएको नौबुँदे ध्यानाकर्षणलाई गम्भीरतापूर्वक लिन प्रधानमन्त्रीलाई उनले पुनः आग्रह गरे।
स्थानीय तहले ज्येष्ठ नागरिक, महिला, बालबालिका तथा अन्य प्रभावितका विशिष्ट समस्या पहिचान गर्न सक्ने भएकाले राहत र पुनःस्थापनामा उनीहरूको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने थापाले बताए। अभिभावकविहीन बालबालिकाको पठनपाठन तथा विस्थापितको पुनःस्थापनामा पार्टीले निरन्तर काम गर्ने प्रतिबद्धता पनि उनले जनाए।
बैठकमा उनले पार्टीको विपद् व्यवस्थापन समितिलाई वडा तहसम्मको यथार्थ विवरण संकलन गरी कार्ययोजना बनाउन निर्देशन दिए। विपद्को समयमा तडकभडकपूर्ण उत्सव तथा महोत्सव नगर्न र सामाजिक सञ्जालमा शवका तस्बिर तथा हृदयविदारक भिडियो पोस्ट नगर्न पनि उनले नेता–कार्यकर्तालाई आग्रह गरे।
बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि आफू नेतृत्वको टोली सोमबार प्रस्थान गर्ने जानकारी दिँदै थापाले विपद्को समस्या अल्पकालीन मात्र नभएको बताए।