काठमाडौं। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले विपद्मा आफन्त गुमाएका परिवारका सदस्यलाई मनोसामाजिक परामर्श आवश्यक रहेको बताएकी छन्। उनले विशेषगरी अभिभावक गुमाएका बालबालिका हराउन सक्ने तथा जोखिममा पर्न सक्ने भन्दै उनीहरूको सुरक्षामा विशेष ध्यान दिनुपर्ने बताइन्।
विपद् व्यवस्थापनसम्बन्धी मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री वादीले उद्धार तथा राहतमा नेपाल रेडक्रस सोसाइटीले पुर्याएको योगदानको प्रशंसा गर्दै तत्कालै प्रभावित क्षेत्रमा खटिएर काम गरेकोमा धन्यवाद दिइन्। मन्त्रालयले विभिन्न संघसंस्थासँग समन्वय गरेर काम गरिरहेको र रेडक्रसको सहयोग प्रभावकारी रहेको उनले बताइन्।
‘विपद्को शुरुवाती समयदेखि नै जहाँ समस्या छ, त्यहाँ रेडक्रसको टोली पुगेर समस्या समाधानमा खटिएको छ,’ उनले भनिन्, ‘अभिभावक नभएका बालबालिका र हिंसाको जोखिममा रहेका महिलाहरूको विषयमा रेडक्रसका संयन्त्रहरूले विशेष ध्यान दिन जरुरी छ।’
विपद्का बेला महिलामाथि हुन सक्ने हिंसा न्यूनीकरण र पीडितको सुरक्षाका लागि मन्त्रालय गम्भीर रहेको उनले बताइन्। प्रभावित क्षेत्रको अवस्था र पीडितको पहिचान गर्ने काम भइरहेको जानकारी दिँदै उनले राज्य र नागरिक समाजको सहकार्यबाट मात्रै यस्ता समस्याको समाधान गर्न सकिने बताइन्।