काठमाडौं। चीन सरकारले नेपाललाई उपलब्ध गराएको ५० टन आपत्कालीन राहत सामग्री आइतबार काठमाडौं ल्याइएको छ। चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई–२० कार्गो विमानमार्फत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो।
चीनको चेङ्दु सुआन्लियु अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका विमान करिब तीन घण्टापछि काठमाडौं अवतरण गरेका थिए। सामग्री हस्तान्तरणका लागि विमानस्थलमा आयोजित समारोहमा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र संघीय संसद्का सदस्य धर्म केसी उपस्थित थिए।
समारोहमा राजदूत माओमिङले राहत सामग्री औपचारिक रूपमा हस्तान्तरण गरे। उनले नेपाल आएका चिनियाँ उद्धार विशेषज्ञलाई पनि स्वागत गरे।
राहत सामग्रीसँगै चीनबाट चार जना सुरुङ उद्धार विशेषज्ञ र आवश्यक उद्धार उपकरणसमेत नेपाल आएका छन्। प्राप्त सामग्रीमा पाल, कम्बल, स्लिपिङ ब्याग, तयारी खाजा र प्राथमिक उपचार किट गरी १३ हजार २ सय थान छन्। ती सामग्रीको कुल तौल ५० टन रहेको छ।