काठमाडौं । धादिङको गल्छी गाउँपालिका–४ चिरौदीमा त्रिशूली नदीमा आएको बाढीका कारण चार वटा घरमा क्षति पुगेको छ।
धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका अनुसार त्रिशूली नदीमा पानीको बहाव बढेपछि स्थानीयका घरमा क्षति पुगेको जानकारी प्राप्त भएको हो।
उनका अनुसार घटनास्थलमा प्रहरी टोली पुगेर क्षतिको विवरण संकलन गरिरहेको छ। घरहरू पूर्ण रूपमा बगेका हुन् वा आंशिक क्षति पुगेको हो भन्ने यकिन भने प्रहरीको स्थलगत निरीक्षणपछि मात्रै हुने उनले बताइन्।
गल्छी गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले पनि चिरौदीमा चार वटा घरमा क्षति पुगेको जानकारी आफूले पाएको बताए। घटनाबारे थप विवरण संकलन भइरहेको उनको भनाइ छ।
त्रिशूली नदीमा पानीको बहाव निरन्तर बढिरहेको र नदी तटीय क्षेत्र जोखिममा रहेकाले स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन तथा सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।