काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच शनिबार टेलिफोन वार्ता भएको छ ।
वार्ताका क्रममा नेपाल–चीन सीमावर्ती क्षेत्रमा भविष्यमा हुन सक्ने विपद्का जोखिम न्यूनीकरणका लागि प्रभावकारी पूर्वसूचना प्रणाली विकास गर्न तथा दुई देशबीचका विद्यमान संयन्त्रलाई थप सुदृढ गर्दै सहकार्य बढाउने विषयमा छलफल भएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।
दुवै पक्षले विपद् व्यवस्थापन, सूचना आदानप्रदान र पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन निरन्तर समन्वय तथा सहकार्य गर्नेमा जोड दिएका छन् ।
वार्तामा रसुवा–जिलोङ बन्दरगाह क्षेत्रमा आएको विनाशकारी बाढीबाट नेपाल र चीन दुवैमा भएको जनधनको क्षतिप्रति मन्त्री खनाल र विदेशमन्त्री वाङले दुःख व्यक्त गरेका थिए ।
त्यस्तै, बाढी प्रभावित क्षेत्रमा जारी खोज, उद्धार तथा राहत कार्यबारे पनि दुवै नेताबीच छलफल भएको थियो । चीनमा बाढीका कारण अलपत्र परेका नेपाली नागरिकको उद्धार तथा स्वदेश फिर्तीका विषयमा समेत कुराकानी भएको सचिवालयले जनाएको छ ।
मन्त्री खनालले विपद्को कठिन परिस्थितिमा चीन सरकारले उपलब्ध गराएको आकस्मिक मानवीय राहत तथा सहयोगप्रति विदेशमन्त्री वाङमार्फत चीन सरकारलाई धन्यवाद दिएका थिए ।