काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्वकार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले रसुवा बाढीपछि जलविद्युत् आयोजनाका सुरुङमा फसेका श्रमिकको उद्धारका लागि तत्काल अन्तर्राष्ट्रिय विशेषज्ञ टोली परिचालन गर्न सरकारलाई सुझाव दिएका छन् ।
बाढी आएको चार दिन बितिसक्दा पनि सुरुङभित्र फसेकाको उद्धार हुन नसकेको उल्लेख गर्दै भट्टले नेपालको आफ्नै प्राविधिक क्षमता र स्रोतसाधनले नभ्याउने अवस्थामा सहयोग माग्न ढिलाइ गर्न नहुने बताए । उनका अनुसार नेपालमा सुरुङ निर्माणको क्रम बढे पनि सुरुङभित्र हुने दुर्घटनाको उद्धारका लागि आवश्यक विशिष्ट प्राविधिक क्षमता र विशेषज्ञता अझै पर्याप्त विकास भएको छैन ।
उनले विपद्को सुरुवाती चरणमा सरकारले देखाएको तदारुकता र सुरक्षाकर्मीको परिचालन प्रशंसनीय भए पनि विशिष्ट प्रकृतिको उद्धारमा स्वदेशी क्षमताले नभ्याए अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने बताए । चीन र भारतजस्ता मुलुकसँग सुरुङ तथा खानी दुर्घटनामा उद्धारको अनुभव र विशेषज्ञता रहेकाले आवश्यक परे उनीहरूको प्राविधिक टोली तत्काल परिचालन गर्नुपर्ने उनको भनाइ छ ।
‘मानिसको जीवन सबैभन्दा महत्वपूर्ण भएकाले हामीले सक्ने काम आफैँ गर्नुपर्छ, तर हाम्रो क्षमताले नभ्याउने अवस्थामा अन्तर्राष्ट्रिय सहयोग लिन ढिला गर्नु हुँदैन,’ भट्टले भने ।
उद्धारका नाममा अनावश्यक भीड बढाउनुभन्दा सुरुङ उद्धारमा दक्ष निश्चित प्राविधिक टोलीलाई मात्र परिचालन गर्नुपर्ने उनले बताए । विपद्को प्रकृति र क्षमताअनुसार स्थानीय, प्रदेश र संघीय सरकारसँगै आवश्यकता परे अन्तर्राष्ट्रिय सहयोग परिचालन गर्ने अभ्यासअनुसार अहिलेको घटनामा पनि समन्वित प्रयास आवश्यक रहेको उनको भनाइ छ ।
चार दिनदेखि सुरुङभित्र मानिस फसेको अवस्थामा थप ढिलाइ जोखिमपूर्ण हुने भन्दै भट्टले उद्धारका लागि कूटनीतिक र प्राविधिक दुवै तहबाट तत्काल पहल गर्न सरकारको ध्यानाकर्षण गराए । ‘जीवन बचाउने विषयमा सहयोग लिन हिचकिचाउनु हुँदैन,’ उनले भने ।