काठमाडौं । कृषि विकास बैंकले बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड रुपैयाँ सहयोग गरेको छ।
शुक्रबार अर्थ मन्त्रालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई तीन करोड रुपैयाँको चेक हस्तान्तरण गरे। चेक हस्तान्तरणका क्रममा बैंकका सञ्चालक समिति अध्यक्ष टंकप्रसाद पाण्डेको रोहवर रहेको थियो।
कार्यक्रममा बैंकका उपमहाप्रबन्धक सुशील हुमागाईं, विभागीय प्रमुख बीना शर्मा र वरिष्ठ शाखा प्रमुख ध्रुव पौडेलको समेत उपस्थिति थियो।
देशका विभिन्न क्षेत्रमा बाढीबाट ठूलो जनधनको क्षति हुनुका साथै हजारौँ नागरिक प्रभावित भएको अवस्थामा पीडितको राहत तथा उद्धारमा सहयोग गर्नु सामाजिक उत्तरदायित्व भएको बैंकले जनाएको छ।
बैंकले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै, विपद्को यस घडीमा सहयोग गर्न इच्छुक संघसंस्था तथा व्यक्तिलाई सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न अपिल गरेको छ।