काठमाडौं -भरतपुर महानगरपालिका-२८ जितपुरका ६५ वर्षीय मङ्गले बोटेको ज्यान लिने नरभक्षी बाघलाई नियन्त्रणमा लिएर चितवन राष्ट्रिय निकुञ्जको सौराहास्थित खोरमा लगिएको छ।
मङ्गलबार स्थानीय सामुदायिक वन क्षेत्रमा मानिसमाथि आक्रमण गर्ने उक्त बाघलाई प्राविधिक टोलीले डार्ट गरी नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार मंगलबार बिहान मङ्गले सोही स्थानका ५५ वर्षीय जीवन बोटेसँगै ‘मर्निङवाक’ मा निस्किएका थिए। केही समयपछि मङ्गले एक्कासि सम्पर्कविहीन भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर खोजी कार्य सुरु गरेको थियो।
बाघले आक्रमण गरेको हुनसक्ने आशङ्का गरिएपछि नेपाली सेना, चितवन राष्ट्रिय निकुञ्ज प्रशासन, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको सहभागितामा हात्ती परिचालन गरी खोजी तीव्र पारिएको थियो।
सघन खोजीका क्रममा घटनास्थलबाट करिब चार/पाँच किलोमिटर पूर्वतर्फ रहेको राप्ती हरियाली तथा बेथरी मध्यवर्ती सामुदायिक वन क्षेत्रमा बाघले आक्रमण गरेको अवस्थामा एक पुरुषको शव फेला परेको थियो।
उक्त शव मङ्गले बोटेकै भएको र उनका छोराले सनाखत गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवले जानकारी दिए। उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
शव फेला परेपछि मानिसमाथि आक्रमण गर्ने नरभक्षी बाघको खोजीलाई थप तीव्र पारिएको थियो। खोजीका क्रममा सोही वन क्षेत्रमा बाघ देखा परेपछि राष्ट्रिय प्रकृति संरक्षण कोषमा कार्यरत वन्यजन्तु प्राविधिकहरूले डार्ट गरी त्यसलाई नियन्त्रणमा लिएका थिए।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार मानिसमाथि बाघले आक्रमण गरेको जानकारी प्राप्त भएलगत्तै मानिस र बाघ दुवैको खोजी एकसाथ सुरु गरिएको थियो।
खोजीका क्रममा मानिस मृत अवस्थामा फेला परेपछि बाघ नियन्त्रणको प्रयासलाई थप सक्रिय बनाइएको र सबैको संयुक्त प्रयासमा बाघलाई डार्ट गरी नियन्त्रणमा लिन सफलता मिलेको उनले जानकारी दिए।
नियन्त्रणमा लिइएको बाघको अवस्थाबारे जानकारी दिँदै सूचना अधिकारी थापामगरले भने, ‘बाघ हेर्दा भाले अन्दाजी सात/आठ वर्षको जस्तो देखिन्छ। शारीरिक रूपमा हेर्दा स्वस्थ नै छ र यसका दाह्रा पनि राम्रा छन्।’
उनका अनुसार नियन्त्रणमा लिइएको बाघलाई सौराहास्थित खोरमा लगिएको छ। बाहिरी रूपमा बाघको स्वास्थ्य अवस्था सामान्य देखिए पनि भित्री स्वास्थ्यको अवस्था भने परीक्षण तथा निरन्तर निगरानीपछि मात्र थाहा हुने उनले बताए।
यससँगै चितवन राष्ट्रिय निकुञ्जका विभिन्न खोरमा नियन्त्रणमा लिएर राखिएका बाघको सङ्ख्या सात पुगेको छ। तीमध्ये पाँच वटा भाले र दुई वटा पोथी रहेका छन्।
अधिकांश मानिसमाथि आक्रमण गरी नरभक्षी बनेपछि निकुञ्ज प्रशासनले तिनलाई नियन्त्रणमा लिएको हो। खोरमा रहेका बाघहरूमध्ये एउटा बाँकेबाट ल्याइएको हो भने अन्य चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रबाट नियन्त्रणमा लिएर राखिएका हुन्।