कोरोना भाइरसको जोखिम र लकडाउनको कारण नेपाली सञ्चारमाध्यम नराम्रोसँग प्रभावित भएका छन् । महिनौँ काम गरेर पनि पारिश्रमिक नपाउनुको पीडा पत्रकारहरूले अभिव्यक्तसमेत गर्न नसक्ने अवस्था छ । नयाँ मिडिया खुल्ने र पुरानो मिडियाहरू बन्द हुने क्रम जारी नै छ । तलब नपाएर पत्रकारहरू भौँतारिनु परेको अवस्था छ । सञ्चारमाध्यमहरूको बारेमा दिनहुँ नयाँ नयाँ कुराहरू बाहिरी रहेका हुन्छन् ।
अहिले नेपाल लाइभमा किचलो रहेको कुरा बाहिरिएको छ । समयमा तलब नदिएको र नयाँ सम्पादक आएकै कारण नेपाल लाइभमा किचलो बढेको हो । वामपन्थी धारका सम्पादक रामेश्वर बोहरा भित्रिएपछि नेकपाको एउटा खेमा आफ्नो राजनीति सफल भएको भन्दै प्रचार गरिरहेको छ। आगामी चुनावमा पार्टीलाई सहयोग गर्ने गरी नेपाल लाइभलाई तयार पार्ने क्रम सुरु भएको स्रोतको दाबी छ । गगन थापा स्वास्थ्य मन्त्री हुँदा प्रोजेक्टको फन्ड पाएर स्वास्थ्य खबर पत्रिका र पछि नेपाल लाइभ सुरु भएको बताइन्छ ।
माघ १ देखि सम्पादक भएर आएका रामेश्वरले भने यसअघिका सम्पादकले तयार पारेका सबै संरचना भत्काउन सुरु गरेका छन् । दैनिक १०० भन्दा बढी समाचार हाल्दै आएको नेपाल लाइभले बोहरा नियुक्त भएपछि ६० वटामा झारिएको नेपाल लाइभ निकट व्यक्तिहरू बताउँछन् ।
नेकपाको समर्थनमा नेपाल लाइभमा तामझामसहित भित्रिएका बोहरालाई भने नेपाल लाइभ प्रवेश नगरी झड्का पनि लागेको थियो। प्रकाशकले बोहरा आउने दिन नजिकिएपछि रातारात गरेर रेनोको क्विड गाडी किनेका थिए।
उनलाई मासिक २ लाख तलब मात्र होइन, घर भाडासमेत नेपाल लाइभले नै तिरिदिने गरी भित्र्याएको हो । बोहराले नेपाल लाइभ प्रवेश गरेकै दिनदेखि त्यहीँका केही पत्रकारहरूको एकपक्षीय कुरा मात्रै सुनेर विभेदपूर्ण व्यवहारको थालनी गरेको आरोप त्यहाँ काम गर्ने पत्रकारहरूले नै लगाउँदै आइरहेका छन् ।
पुस ५ मा संसद् विघटन हुनुअघि नै नेपाल लाइभमा सेवा सुविधा तोकिएका बोहरालाई संसद् विघटनअघि हालका नेकपाका दुवै खेमाले सहयोग गरेका थिए। पर्यटन मन्त्री रहेका बेला योगेश भट्टराईले नेपाल लाइभमा आफ्नो पक्षका सम्पादक ल्याउन ठुलो भूमिका खेलेको आरोप समेत लागेको छ । यसमा बालुवाटारको पनि सहयोग थियो। यति बेला नेकपा दुई भागमा विभाजन भएको छ। तर नेपाल लाइभ जुनसुकै पक्षमा उभिए पनि आगामी चुनावमा नेकपाकै मुख पत्र बनाउने तयारी भइरहेको बुझिएको छ ।
काँग्रेस निकट मानिएका नारायण अमृतलाई निकाल्न नेपाल लाइभ भित्रकै टिमले ठुलो भूमिका खेलेको चर्चा पत्रकारभित्रै हुने गरेको छ । तर नारायण अमृतले भने यो कुराको खण्डन गरेका छन् । केटिएम दैनिकसँगको कुराकानीमा उनले भने, ‘मेरो कार्यकाल सकिएर म आफै निस्किएको हो, प्रकाशक अनिल जी सँग आज पनि मेरो राम्रो सम्बन्ध छ । म कुनै पनि राजनीतिक पार्टीमा आस्था राख्नु भन्दा पहिले एक व्यावसायिक पत्रकार हुँ ।’ नेपाल लाइभमा भइरहेको किचलोको बारेमा सोध्दा उनले भने, ‘अहिले म त्यो संस्थामा आबद्ध छैन त्यसैले पनि त्यहाँ के भइरहेको छ भन्ने बारेमा मलाई जानकारी छैन । त्यहाँ कार्यरत सबै साथीहरूसँग मेरो राम्रो सम्बन्ध छ ।’
नेपाल लाइभले लकडाउनका बेला आधा मात्र तलब दिएको थियो। पुरै तलब आफूहरूले पाउनुपर्ने विषय पत्रकारले उठाएपछि बोहराले एउटा अनलाइनको नाम नै किटेर त्यहीँ गए भइहाल्यो नि यहाँ किन काम गरिराख्या ? भनेर सामूहिक रूपमा नै सबैलाई प्रश्न गरेका थिए। एक पत्रकारले सेतोपाटीले लकडाउनको समयमा पनि बोनस दिएको कुरा नेपाल लाइभको च्याट ग्रुपमा हालेपछि भोलि पल्टको मिटिङमै बोहराले जागिरै सेतोपाटीमा खान गए भैगो नि भनेको मिडिया मार्केटमा चर्चा छ ।
सम्पादक बोहराले आर्थिक ब्युरो प्रमुख सविन मिश्रलाई बिदा बस्न लगाएका छन् । बोहरा त्यहाँ कार्यरत अन्य थुप्रै पत्रकारहरूलाई पनि हटाउने सूची तयार पारेर बसेको बुझिएको छ ।
आफ्नो राजनीतिक स्वार्थ सिद्ध गर्न आफू अनुकूलको टिम बनाउने काममा सम्पादक बोहरा लागिपरेका छन्। योगेश भट्टराईले उनलाई कोर कम्युनिस्टका पक्षमा काम गर्ने वातावरण तयार गर्न पठाएको चर्चा नेकपा वृत्तमा चलिरहेको छ।
बोहरा सम्पादक भएपछि नेपाल लाइभबाट निर्मला घिमिरे, अरुण सापकोटा र अमृत दाहालले जागिर छाडिसकेका छन्। अनुराग अधिकारी उकेरामा जाने तयारीमा छन् भने राजनीतिक ब्युरो चिफ शिलापत्र जाने तयारीमा रहेको बुझिएको छ । नेपाल लाइभका अर्का पत्रकारलाई इकागजले बोलाइरहेको छ । दुई पटकसम्म बोलाउँदा पनि जाने या नजाने भन्ने निर्णयमा उनी पुग्न सकेका छैनन् ।
यसैबिच बिजनेस ब्युरोलाई देखाइदिने भन्दै सम्पादक बोहराले बिबिसी मिडिया एक्सन छोडेका शिरोमणि ढुङ्गानालाई ल्याउने तयारीमा छन् । सुरूमा उनलाई अङ्ग्रेजी संस्करण निकाल्ने र त्यसको संयोजक बनाइने भनिएको छ।
नेपाल लाइभको प्रकाशक भने सम्पर्कमा आउन चाहेनन् ।