काठमाडौं । प्रजातान्त्रिक पार्टी नेपालले संवैधानिक राजसंस्था, वैदिक सनातन हिन्दु राष्ट्र, स्वायत्त शासन प्रणाली तथा भ्रष्टाचारमुक्त शासन व्यवस्थाको माग गर्दै भदौको अन्तिम सातादेखि सडक आन्दोलन गर्ने तयारी गरेको छ।
आइतबार काठमाडौंमा बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले आन्दोलनको तयारी अघि बढाउने निर्णय गरेको अध्यक्ष डा. तारानाथ लुइँटेलले बताए। उनका अनुसार आन्दोलनको औपचारिक निर्णय भने केन्द्रीय समितिको बैठकबाट हुनेछ।
बैठकमा संवैधानिक राजसंस्था, वैदिक सनातन हिन्दु राष्ट्र, स्वायत्त शासन प्रणाली, भ्रष्टाचार नियन्त्रण तथा धार्मिक स्वतन्त्रतासहित सर्वधर्म समभावका विषयमा छलफल भएको उनले बताए।
‘संवैधानिक राजसंस्था, वैदिक सनातन हिन्दु राष्ट्र, भ्रष्टाचारमुक्त नेपाल र स्वायत्त शासन प्रणाली स्थापनाका एजेन्डामा केन्द्रित भएर आन्दोलनमा जाने तयारी गरेका छौं,’ लुइँटेलले भने, ‘भदौको अन्तिममा केन्द्रीय समितिको बैठकबाट औपचारिक निर्णय गरेर सडक आन्दोलनमा उत्रिन्छौं।’
लुइँटेलले नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा तथा प्रधानमन्त्री बालेन्द्र साहमाथि ‘विदेशीले बोकाइदिएको भारी बोकेको’ आरोप लगाए। साथै, ‘बारबरा फाउन्डेसन’का कारण अहिलेको अवस्था सिर्जना भएको, दलाई लामालाई स्थापित गर्न र युरेनियम बेच्ने उद्देश्यले खेल भइरहेको दाबी पनि गरे।
उनले भ्रष्टाचारविरुद्ध भइरहेका कारबाही प्रभावकारी हुन नसकेको दाबी गर्दै बर्खा सकिएलगत्तै पार्टी आफ्ना एजेन्डासहित आन्दोलनमा उत्रिने बताए।