काठमाडौं । वैदेशिक रोजगारीका नाममा हुने ठगीका पीडितले अब काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । सरकारले मंगलबार अनलाइन उजुरी प्रणाली सञ्चालनमा ल्याएको हो । अब पीडितले आफ्नै मोबाइल वा कम्प्युटरबाट प्रमाणसहित उजुरी दर्ता गर्न सक्नेछन् ।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ताहाचलस्थित वैदेशिक रोजगार विभागमा आयोजित कार्यक्रममा ‘उजुरी डोफे गभर्मेन्ट नेपाल’ पोर्टलको शुभारम्भ गरे ।
हालसम्म वैदेशिक रोजगारीका नाममा ठगी, तोकिएभन्दा बढी रकम असुली वा इजाजतपत्रबिनै विदेश पठाइएका घटनाका पीडितले उजुरी दिन विभागमै पुग्नुपर्ने व्यवस्था थियो । सीमित जनशक्ति र स्रोत–साधनका कारण उजुरी दर्ता तथा अनुसन्धानमा ढिलाइ हुँदा पीडितले काठमाडौंमै बस्नुपर्ने र अतिरिक्त खर्च व्यहोर्नुपर्ने अवस्था रहेको विभागको भनाइ छ ।
नयाँ प्रणालीमार्फत पीडितले आवश्यक कागजात र प्रमाण अनलाइनमार्फत अपलोड गरेर उजुरी दर्ताका लागि पेश गर्न सक्नेछन् । विभागले प्रारम्भिक अध्ययनपछि उजुरी दर्ता गर्नेछ । दर्तापछि उजुरीकर्ताले एसएमएस र इमेलमार्फत प्राप्त हुने ट्र्याकिङ कोड प्रयोग गरेर जुनसुकै बेला आफ्नो उजुरीको अवस्था अनलाइनमै हेर्न सक्नेछन् ।
विभागले उजुरी प्रणालीलाई नेपाल प्रहरीको केन्द्रीय प्रणालीसँग एपीआई मार्फत समेत जोडेको छ । यसअघि वैदेशिक रोजगार न्यायाधिकरणबाट पक्राउ पुर्जी जारी भए पनि त्यसको विवरण प्रहरी प्रणालीमा पुग्न ढिलाइ हुने गरेका कारण ठगीमा संलग्न केही व्यक्ति प्रहरी चारित्रिक प्रमाणपत्र लिएर विदेश जान सफल हुने जोखिम रहेको थियो ।
अब भने पक्राउ पुर्जी जारी हुनेबित्तिकै त्यसको विवरण प्रहरीको प्रणालीमा स्वतः अद्यावधिक हुने व्यवस्था गरिएको मन्त्री यादवले बताए । यसले ठगीमा संलग्न व्यक्तिले प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस क्लियरेन्स सर्टिफिकेट) प्राप्त गर्न नसक्ने र कानुनी कारबाहीबाट उम्किन कठिन हुने उनको भनाइ छ ।
मन्त्री यादवले वैदेशिक रोजगारीमा जाने क्रममा गाउँदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म विभिन्न चरणमा ठगी र शोषण हुने समस्या अझै कायम रहेको उल्लेख गर्दै नयाँ प्रणालीले पीडितलाई न्यायको पहुँच सहज बनाउने विश्वास व्यक्त गरे ।
मन्त्रालयका अनुसार प्रविधिको प्रयोगमार्फत उजुरी प्रक्रियालाई छिटो, पारदर्शी र सेवाग्राहीमैत्री बनाउने उद्देश्यले यो प्रणाली सञ्चालनमा ल्याइएको हो ।