काठमाण्डौ – निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको नियुक्ति प्रक्रिया अघि बढेको छ। संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित पदाधिकारीलाई साउन १२ र १३ गते प्रस्तुतीकरणका लागि बोलाउने निर्णय गरेको हो।
समितिको मंगलबार बसेको बैठकले साउन १२ गते प्रस्तावित निर्वाचन आयुक्त डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेको प्रस्तुतीकरण गर्ने कार्यतालिका तय गरेको छ। प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीलाई भने साउन १३ गते बोलाइएको छ।
दुवै दिनको बैठक बिहान ११ः१५ बजे सुरु हुने समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए।
गत असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले कार्कीलाई प्रमुख निर्वाचन आयुक्त तथा सुब्बा र वाग्लेलाई निर्वाचन आयुक्तमा नियुक्तिका लागि सिफारिस गरेको थियो।
संसदीय सुनुवाइअघि प्रस्तावित पदाधिकारीविरुद्ध परेका उजुरी, उनीहरूको योग्यता, अनुभव र भावी कार्ययोजनासम्बन्धी कागजात अध्ययन गरिने समितिले जनाएको छ। आवश्यक कागजात समिति सदस्यहरूलाई इमेलमार्फत उपलब्ध गराइनेछ।
संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।