काठमाडौं । सेयर बजारले आफ्नो सकारात्मक गति कायम राखेको छ । अघिल्लो कारोबार दिन शुक्रबार ७९ अंकले बढेको नेप्से परिसूचक साताको पहिलो कारोबार दिन सोमबार थप ४१.७० अंक (१.५५ प्रतिशत) ले वृद्धि भएको छ ।
लगातार दुई कारोबार दिनमा बजार १२० अंकले उकालो लागेको छ । सोमबारको वृद्धिसँगै नेप्से परिसूचक २७१९ अंकमा पुगेको छ । यो पछिल्लो एक महिनायताकै उच्च विन्दु हो । यसअघि जेठ २९ गते नेप्से २७२४ अंकमा पुगेको थियो ।
सोमबार कारोबार अवधिभर बजार सकारात्मक रह्यो । बन्द हुँदाको नेप्से अंक नै दिनकै उच्च विन्दु बनेको छ । यससँगै बजार लगातार पाँचौं कारोबार दिन पनि बढेको छ ।
बजारमा कारोबार रकमसमेत बढेको छ । अघिल्लो दिन ४ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार कारोबार रकम बढेर ५ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । कुल २३९ कम्पनीको सेयर मूल्य बढ्दा ३२ कम्पनीको घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रह्यो ।
समूहतर्फ उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै ३.२१ प्रतिशतले बढेको छ । त्यस्तै, अन्य समूह २.८१ प्रतिशत, जलविद्युत् २.७९ प्रतिशत, होटल तथा पर्यटन १.९८ प्रतिशत, विकास बैंक १.४८ प्रतिशत, लगानी समूह १.५५ प्रतिशत, बैंकिङ ०.५५ प्रतिशत, फाइनान्स ०.९३ प्रतिशत, जीवन बीमा ०.८४ प्रतिशत, माइक्रोफाइनान्स ०.३७ प्रतिशत, निर्जीवन बीमा ०.४४ प्रतिशत र व्यापार समूह १.१४ प्रतिशतले उकालो लागेका छन् ।
हालै सूचीकृत भएको एभरेस्ट कलरको सेयर मूल्य १५ प्रतिशतले बढेको छ । त्यस्तै, रिजलाइन इनर्जी १३.९५ प्रतिशत, श्रीनगर एग्रिटेक १०.९५ प्रतिशत, सोलु हाइड्रोपावर ९.९३ प्रतिशत, दिव्यश्वरी हाइड्रोपावर ८.६२ प्रतिशत, हाथवे इन्भेस्टमेन्ट ८.६१ प्रतिशत र शिखर पावर ७.८३ प्रतिशतले बढेका छन् ।
घट्ने कम्पनीतर्फ आत्मनिर्भर लघुवित्तको सेयर मूल्य ६.८६ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकको ६.८५ प्रतिशतले घटेको छ ।
सोमबार कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत्, रिलायन्स स्पिनिङ मिल्स, रिडी पावर, कर्पोरेट डेभलपमेन्ट बैंक, नेसनल हाइड्रोपावर, एसवाई प्यानल, अपी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर र हिमालय रिइन्स्योरेन्सजस्ता कम्पनीहरू अगाडि रहे ।