काठमाडौँ । कुशल भुर्तेलको शानदार शतक र हेमन्त धामीको उत्कृष्ट बलिङप्रेरित नेपालले जर्सीविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ८१ रनको प्रभावशाली जित दर्ता गरेको छ।
नेपालले दिएको २५१ रनको लक्ष्य पछ्याएको घरेलु टोली जर्सी ४१ ओभरमा १६९ रनमै अलआउट भयो। जर्सीका लागि मध्यक्रमका ब्याट्सम्यान चार्ली ब्रेननले ८२ रनको उत्कृष्ट पारी खेले पनि टोलीलाई जितसम्म पुर्याउन सकेनन्। अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान दिन नसक्दा जर्सी लक्ष्यभन्दा निकै टाढा रह्यो।
नेपालको जितमा तीव्र गतिका बलर हेमन्त धामीले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए। आरिफ शेखले ३ विकेट हात पारे भने करण केसीले २ र सन्दीप लामिछानेले १ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २५० रन बनाएको थियो। नेपालका ओपनर कुशल भुर्तेलले १०५ रनको शानदार शतकीय इनिङ्स खेले। भीम सार्कीले ३९ रनको योगदान दिए भने नवौं नम्बरमा ब्याटिङ गर्न आएका हेमन्त धामीले अविजित १९ रन बनाए।
नेपालका अन्य ब्याट्सम्यानमध्ये आसिफ शेखले १६, कप्तान रोहित पौडेलले १५, आरिफ शेखले ११ र ईशान पाण्डेले १ रन जोडे।
जर्सी भ्रमणमा रहेको नेपाली टोलीले अब बुधबार दोस्रो तथा अन्तिम एकदिवसीय खेल खेल्नेछ।
