एजेन्सी । दक्षिण कोरियाले यस वर्षदेखि लागू गरेको नयाँ वर्गीकरण प्रणालीअन्तर्गत आइतबार पहिलो पटक आपत्कालीन ‘हिटवेभ’ (अत्यधिक गर्मीको लहर) चेतावनी जारी गरेको छ। अधिकारीहरूले सर्वसाधारणलाई अनावश्यक रूपमा घरबाहिर ननिस्कन, शीतल स्थानमा बस्न र शरीरलाई चिसो राख्न आग्रह गरेका छन्।
नयाँ प्रणालीअनुसार कुनै क्षेत्रमा महसुस गरिने तापक्रम ३८ डिग्री सेल्सियस वा वास्तविक तापक्रम ३९ डिग्री सेल्सियस वा त्यसभन्दा बढी पुग्ने पूर्वानुमान भएमा, एक दिनका लागि मात्र भए पनि आपत्कालीन ‘हिटवेभ’ चेतावनी जारी गर्न सकिने व्यवस्था गरिएको छ।
अधिकारीहरूका अनुसार पछिल्ला वर्षहरूमा दक्षिण कोरियामा अत्यधिक गर्मीको लहरको अवधि लम्बिँदै गएको छ भने यसको तीव्रतासमेत बढ्दै गएको छ। यही अवस्थालाई ध्यानमा राख्दै गर्मीजन्य जोखिमको प्रभावकारी व्यवस्थापनका लागि नयाँ चेतावनी प्रणाली लागू गरिएको हो।
कोरिया मौसम विज्ञान प्रशासनकी प्रमुख ली मी–सोनले आइतबार बिहान १० बजे आयोजित पत्रकार सम्मेलनमा दक्षिणी नर्थ ग्योङसाङ प्रान्तका ग्योङसान र पोहाङ सहरका लागि पहिलो पटक आपत्कालीन ‘हिटवेभ’ चेतावनी जारी गरिएको जानकारी दिइन्।
उनका अनुसार ती क्षेत्रमा सप्ताहन्तभर तापक्रमले आपत्कालीन चेतावनी जारी गर्ने मापदण्ड पूरा गरेको थियो।
लीले भनिन्, “आपत्कालीन ‘हिटवेभ’ चेतावनीले केवल मौसम अत्यधिक तातो भएको संकेत मात्र गर्दैन, यसले स्वस्थ व्यक्तिसमेत गर्मीजन्य रोगको उच्च जोखिममा पर्ने वा मृत्यु हुन सक्ने अवस्था रहेको जनाउँछ।”
उनले चेतावनी जारी भएका क्षेत्रमा अनावश्यक बाहिरी गतिविधि तुरुन्त रोक्न, सकेसम्म शीतल स्थानमा बस्न तथा बालबालिका र घरपालुवा जनावरलाई कुनै पनि अवस्थामा सवारीसाधनभित्र एक्लै नछोड्न आग्रह गरिन्।