काठमाडौं । एसीसी यू–१९ महिला प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित दर्ता गर्दै क्वाटरफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ।
समूह ‘डी’ अन्तर्गत आइतबार बिहान भएको खेलमा नेपालले सिंगापुरलाई १५१ रनको फराकिलो अन्तरले पराजित गरेको हो।
नेपालले प्रस्तुत गरेको २०० रनको विशाल लक्ष्य पछ्याएको सिंगापुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ४८ रन मात्र बनाउन सक्यो। सिंगापुरका लागि अंकितावर्षा राजले सर्वाधिक १९ रन जोडिन्।
नेपालको बलिङतर्फ अनु कडायतले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा केवल ४ रन खर्चिएर ३ विकेट लिइन्। मनिषा उपाध्याय र रिया शर्माले समान २–२ विकेट हात पारे भने कप्तान सोनी पाख्रिनले १ विकेट लिइन्।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा बिना विकेटको क्षतिमा १९९ रनको बलियो योगफल तयार पारेको थियो। ओपनर सना प्रवीणले अविजित ९८ रनको शानदार पारी खेलिन् भने अर्की ओपनर साबित्री धामीले ७४ रनको योगदान दिइन्।
नेपालले अब समूह चरणको अन्तिम खेलमा हङकङसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि हङकङले सिंगापुरलाई हराएको थियो भने कतारले हङकङलाई पराजित गरेको छ।