काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारको समग्र प्राप्ति र राजस्व संकलन दुवैमा अघिल्लो वर्षको तुलनामा सुधार देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार असार २६ गतेसम्म सरकारले कुल प्राप्ति लक्ष्यको ७९.४९ प्रतिशत हासिल गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यो ७७.१५ प्रतिशत थियो ।
सरकारले चालु आर्थिक वर्षमा कुल १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ प्राप्त गर्ने लक्ष्य राखेकोमा असार २६ सम्म १२ खर्ब १८ अर्ब ८९ करोड ८९ लाख रुपैयाँ प्राप्त भएको छ । गत आर्थिक वर्षमा १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख रुपैयाँको लक्ष्य रहेकामा सोही अवधिसम्म ११ खर्ब ३५ अर्ब ३० करोड ३१ लाख रुपैयाँ प्राप्त भएको थियो ।
राजस्व संकलन बढ्यो
चालु आर्थिक वर्षमा सरकारले राजस्वबाट १४ खर्ब ८० अर्ब रुपैयाँ उठाउने लक्ष्य राखेकोमा असार २६ सम्म ११ खर्ब ८१ अर्ब ६२ करोड ७६ लाख रुपैयाँ संकलन गरेको छ । यो लक्ष्यको ७९.८४ प्रतिशत हो । गत आर्थिक वर्षको सोही अवधिमा १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य रहेकामा ११ खर्ब ५ अर्ब ७७ करोड ४९ लाख रुपैयाँ संकलन भएको थियो । त्यो लक्ष्यको ७७.९१ प्रतिशत हो ।
कर राजस्वतर्फ १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख रुपैयाँ उठाउने लक्ष्य राखिएकोमा असार २६ सम्म १० खर्ब ६८ अर्ब ३६ करोड २४ लाख रुपैयाँ संकलन भएको छ । यो लक्ष्यको ८०.६ प्रतिशत हो । गत आर्थिक वर्षको सोही अवधिमा कर राजस्व लक्ष्यको ७७.९९ प्रतिशत संकलन भएको थियो ।
यता गैरकर राजस्व संकलन भने अपेक्षाकृत कमजोर देखिएको छ । सेवा शुल्क, दस्तुर, जरिवानालगायत शीर्षकबाट १ खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख रुपैयाँ उठाउने लक्ष्य रहेकामा असार २६ सम्म १ खर्ब १३ अर्ब २६ करोड ५२ लाख रुपैयाँ संकलन भएको छ । यो लक्ष्यको ७३.३५ प्रतिशत हो । गत आर्थिक वर्षमा १ खर्ब ३५ अर्ब ९ करोड ३४ लाख रुपैयाँको लक्ष्य रहेकामा १ खर्ब ४ अर्ब २४ करोड ५० लाख रुपैयाँ अर्थात् लक्ष्यको ७७.१७ प्रतिशत संकलन भएको थियो ।
वैदेशिक अनुदानमा पनि सुधार
चालु आर्थिक वर्षमा वैदेशिक अनुदान प्राप्ति पनि अघिल्लो वर्षको तुलनामा बढेको छ । सरकारले ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ वैदेशिक अनुदान प्राप्त गर्ने लक्ष्य राखेकोमा असार २६ सम्म २९ अर्ब ८३ करोड ८९ लाख रुपैयाँ प्राप्त गरेको छ । यो लक्ष्यको ५५.८३ प्रतिशत हो ।
गत आर्थिक वर्षमा ५२ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ वैदेशिक अनुदान प्राप्त गर्ने लक्ष्य रहेकामा सोही अवधिसम्म २२ अर्ब ७ करोड ८७ लाख रुपैयाँ प्राप्त भएको थियो । त्यो लक्ष्यको ४२.१९ प्रतिशत मात्र थियो ।
महालेखा नियन्त्रक कार्यालयको विवरणअनुसार चालु आर्थिक वर्षमा समग्र प्राप्ति, राजस्व संकलन र वैदेशिक अनुदान प्राप्तिमा अघिल्लो वर्षको तुलनामा सुधार देखिए पनि गैरकर राजस्व संकलन भने अझै लक्ष्यअनुसार अघि बढ्न सकेको छैन।