काठमाडौँ। इरानले अमेरिका, इजरायल र उनीहरूका सहयोगीहरूले आफ्ना पूर्व सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टिमा कुनै कारबाही गरेमा उचित जवाफ दिइने चेतावनी दिएको छ।
बीबीसी मनिटरिङका अनुसार इरानको खातम अल-अन्बिया केन्द्रीय मुख्यालयका कमाण्डर मेजर जनरल अली अब्दुल्लाहीले अमेरिका, इजरायल र उनीहरूका सहयोगीहरूलाई खामेनीको अन्त्येष्टि अघि इरानविरुद्ध कुनै पनि कारबाही नगर्न चेतावनी दिएका हुन्।
इरानको सर्वोच्च सैन्य कमान्डका प्रमुख अब्दुल्लाहीले अन्त्येष्टि समारोहले इरानी जनता अली खामेनीको मृत्युको ‘बदला’ लिन दृढ रहेको देखाउने बताए।
यो जानकारी इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्ससँग जोडिएको तस्निम समाचार एजेन्सीले जुलाई २ मा आफ्नो टेलिग्राम च्यानलमा दिएको थियो।
‘हामी शक्तिशाली इरानका शत्रुहरू, विशेष गरी संयुक्त राज्य अमेरिका, यहूदी शासन (इजरायल) र यसका क्षेत्रीय र बाह्य-क्षेत्रीय सहयोगीहरूलाई कुनै पनि गलतफहमी वा गलत हिसाब नगर्न चेतावनी दिन्छौं,’ अब्दुल्लाहीले भने।
उनले इरानको भूभाग वा क्षेत्रविरुद्ध कुनै पनि ‘धम्की वा आक्रामक कारबाही’ लाई ‘कडा प्रतिक्रिया र पछुतो’ हुने बताए।
तेहरान नगरपालिकाका सांस्कृतिक तथा सामाजिक मामिला उपप्रमुख मोहम्मद अमिन तवाख्लिजादेहका अनुसार ‘जुलाई ४, ५, ६, ७ र ८ मा अली खामेनीको अन्त्येष्टिमा राजधानी तेहरानमा १ करोड ५० लाख देखि २ करोड मानिसहरूको सम्भावित सहभागितालाई ध्यानमा राखेर तयारी भइरहेको छ।’
भारतीय विदेश मन्त्रालयले भारतको तर्फबाट बिहारका गभर्नर सैयद अता हसनैन र विदेश राज्यमन्त्री पवित्रा मार्गेरिता जुलाई ३ मा अयातोल्लाह सैयद अली खामेनीको अन्त्येष्टिमा भाग लिन इरान जाने बताएको छ।