प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको उद्घाटन खेलमै त्रिभुवन आर्मीका विनोद भण्डारीले शतक बनाएका छन् ।
शुक्रबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा आर्मीका कप्तान विनोदले गण्डकी प्रदेशविरुद्ध शतक प्रहार गरेका हुन् ।
७२ बलको सामना गरेका उनले ९ चौका र ५ छक्का प्रहार गरेका थिए ।
प्रधानमन्त्री कपमा यो नवौं शतक हो । आर्मीका खेलाडीको दोस्रो शतक हो । आर्मीका सागर पुनले २०१८ मा शतक बनाएका थिए ।.
प्रधानमन्त्री कपको यो चौथो संस्करण हो । नेपालको यो एक मात्र ५० ओभरको घरेलु प्रतियोगिता हो ।
प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमकाे सहभागिता रहने क्यानले जनाएको छ । क्यानले प्रतियोगितामा सहभागी हुने १० टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश १ र कर्णाली प्रदेश रहेका छन् भने समूह ‘बी’ मा नेपाल पुलिस क्लब, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश २ र सुदूरपश्चिम प्रदेश रहेका छन् ।
पिएम कपका सबै खेलहरू कीर्तिपुरस्थित टियु र मुलपानी मैदानमा खेलका प्रतिष्पर्धा हुनेछन् । प्रतियोगिता आजदेखि आउँदाे माघ १७ गतेसम्म चल्नेछ । नेपाल पुलिस क्लब प्रतियोगिताको साविक विजेता र आर्मी उपविजेता हुन् ।