काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत भएको रोमाञ्चक खेलमा स्विट्जरल्यान्डले पहिलो जित दर्ता गरेको छ।
अमेरिकाको लस एन्ज लसस्थित सोफाइ स्टेडियममा सम्पन्न खेलमा बोस्निया एन्ड हर्जगोभिनालाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै स्विट्जरल्यान्डले स्पष्ट ३ अंक जोडेको हो।
स्विट्जरल्यान्डको जितमा जोहान मान्जाम्बीले दुई गोल गरे भने रुबेन वर्गास र कप्तान ग्रानिट जाकाले एक–एक गोलको योगदान दिए। बोस्नियाका लागि एर्मिन माहमिकले एक सान्त्वना गोल फर्काए।
खेलको पहिलो हाफ प्रतिस्पर्धात्मक रहे पनि दोस्रो हाफमा गोलको वर्षा भएको थियो। जोहान मान्जाम्बीले खेलको ७४औं मिनेटमा गोल गर्दै स्विट्जरल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए।
त्यसपछि खेलको ८०औं मिनेटमा बोस्नियाका तारिक मुहारेमोभिकले विपक्षी खेलाडीलाई लडाएपछि सिधै रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए। बोस्निया १० खेलाडीमा सीमित भएपछि स्विट्जरल्यान्ड खेलमा पूर्ण रूपमा हाबी बन्यो।
१० खेलाडीमा समेटिएको बोस्नियाविरुद्ध स्विट्जरल्यान्डले अन्तिम समयमा आक्रामक खेल खेल्यो। रुबेन वर्गासले ८४औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए भने जोहानले ९०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै स्विट्जरल्यान्डलाई ३–० को बलियो स्थितिमा पुर्याए।
दोस्रो हाफको इन्जुरी समयमा बोस्नियाका एर्मिन माहमिकले एक गोल गर्दै खेलमा फर्किने प्रयास गरे पनि त्यो ढिलो भइसकेको थाहा भयो।
खेलको अन्तिम क्षणमा डिबक्सभित्र बोस्नियाका खेलाडीले फउल गरेपछि स्विट्जरल्यान्डले पेनाल्टी पायो, जसमा ग्रानिट जाकाले सहजै गोल गर्दै टोलीलाई ४–१ को सानदार जित दिलाए।
यो जितसँगै दुई खेलबाट ४ अंक जोड्दै स्विट्जरल्यान्ड समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ। यसअघि आफ्नो पहिलो खेलमा स्विट्जरल्यान्ड कतारसँग १–१ को बराबरीमा रोकिएको थियो।
पराजित बोस्नियाले भने पहिलो खेलमा क्यानडासँग १–१ को बराबरी खेलेको थियो र उसको खातामा १ अंक मात्र छ।