बिहार। भारतको पूर्वी राज्य बिहारको मुजफ्फरपुर जिल्लास्थित प्रसाद अस्पतालमा बिहीवार भीषण आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ ।
अस्पतालको सघन उपचार कक्ष (आईसीयू) बाट शुरु भएको आगलागीमा परी अन्य २० जना घाइते भएका छन् । स्थानीय प्रशासनका एक वरिष्ठ अधिकारीले घटनाको पुष्टि गर्दै मृतकको संख्या अझै बढ्न सक्ने आशंका व्यक्त गरेका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । स्थानीय अग्निनियन्त्रण विभागकाअनुसार बिहीवार बिहान करिब ३ः५५ बजे आगलागी शुरु भएको थियो। आगलागीका समयमा आईसीयूभित्र १३ जना बिरामी उपचाररत थिए । आईसीयूबाट सुरु भएको आगो नजिकैका अन्य वार्डहरूमा समेत फैलिँदा त्यहाँ रहेका बिरामीहरू समेत घाइते भएका छन् । अग्निनियन्त्रक र उद्धारकर्मीको टोलीले झन्डै २० जना बिरामीलाई अस्पतालबाट सुरक्षित उद्धार गरी थप उपचारका लागि अन्य स्वास्थ्य संस्थामा भर्ना गरेका छन् ।
प्रारम्भिक अनुसन्धान र स्थानीय सञ्चारमाध्यमकाअनुसार विद्युतीय सर्ट (शर्ट सर्किट) भई आगलागी भएको अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रशासनले जनाएको छ ।