जापान। जापानको ओकिनावा टापुमा प्रभाव पारेपछि शक्तिशाली समुन्द्री आँधी ‘जाङ्ग्मी’ मंगलवार दक्षिण–पश्चिमी टापु क्युशुतर्फ अघि बढेको यहाँको मौसम विज्ञान एजेन्सीले जनाएको छ ।
जापान मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार यस वर्षको छैटौँ ताइफुनका रूपमा रहेको ‘जाङ्ग्मी’ स्थानीय समयअनुसार मंगलवार बिहान ७ बजे कागोशिमा र ओकिनावा प्रान्तको बीचमा पर्ने अमामी–ओशिमा टापुको पश्चिम–उत्तरपश्चिममा अवस्थित थियो । यो आँधी हाल करिव २५ किलोमिटर प्रतिघण्टाको गतिमा उत्तर–पूर्वतर्फ बढिरहेको छ । सार्वजनिक प्रसारक संस्था एनएचकेका अनुसार ओकिनावा प्रान्तमा चलेको तिब्र गतिको हावाहुरीका कारण १० जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् । आँधीका कारण क्युशु र अन्य क्षेत्रमा गरी मंगलबार ३२० भन्दा बढी उडानहरू रद्द गरिएका छन् । यसैगरी, मंगलबार रातिदेखि बुधबारसम्म तोकाइदो लाइन लगायतका सिन्कानसेन बुलेट रेल सेवाहरू पनि प्रभावित हुन सक्ने बताइएको छ ।
मौसम विज्ञान एजेन्सीले अमामी क्षेत्र र पश्चिमी जापानमा तीव्र हावाहुरी र भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आह्वान गरेको छ । एजेन्सीले सम्भावित पहिरो, तल्लो तटीय क्षेत्रमा हुनसक्ने डुबान र नदीहरूमा आउन सक्ने बाढीप्रति सचेत रहन चेतावनी समेत दिएको छ ।