वाशिंगटन। केभिन वार्सले अमेरिकी केन्द्रिय बैंक, फेडरल रिजर्भ सिस्टमको ‘बोर्ड अफ गभर्नर्स’ को अध्यक्षका रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। ह्वाइट हाउसमा शुक्रवार आयोजित एक विशेष समारोहका बीच उनले आफ्नो चार वर्षको कार्यकालका लागि कार्यभार सम्हालेका हुन्। सन् १९८७ मा एलन ग्रिनस्प्यानले शपथ लिएपछि राष्ट्रपति निवास (ह्वाइट हाउस) मा शपथ ग्रहण गर्ने वार्स पहिलो ‘फेड’ अध्यक्ष बने। समारोह ह्वाइट हाउसको ‘इस्ट रूम’ मा सम्पन्न भएको थियो । शपथ ग्रहणपछि संक्षिप्त मन्तव्य राख्दै नवनियुक्त अध्यक्ष वार्सले आफूले फेडरल रिजर्भलाई सुधारमुखी ढङ्गले अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे । समारोहमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नवनियुक्त अध्यक्ष वार्सलाई पूर्ण रूपमा स्वतन्त्र भएर काम गर्न सुझाव दिए ।
सो अवसरमा राष्ट्रपति ट्रम्पले फेडरल रिजर्भको हालैका वर्षहरूको कार्यशैलीप्रति आलोचना समेत गरे । ट्रम्पकाअनुसार धेरैको नजरमा फेड आफ्नो मुख्य उद्देश्य र जनादेशबाट विचलित भएको छ । उनले फेड पछिल्लो समय जलवायु नीति र ‘डिइआई’ (विविधता, समानता र समावेशीकरण) जस्ता आफ्नो कार्यक्षेत्रभन्दा बाहिरका विषयमा केन्द्रित भएको आरोप लगाए ।