पछिल्लो समय कोरोना भाइरसको कारण केही असर परे पनि नेपाली चलचित्र क्षेत्रमा विकासको प्रबल सम्भावना देखिँदै गएको छ । नेपाली चलचित्र क्षेत्रमा थुप्रै नयाँ–नयाँ चलचित्रकर्मीहरू नयाँ–नयाँ लगानीकर्ताहरूको प्रवेश भइरहेका छन् भन्नपर्दा पछिल्लो समयमा नेपाली चलचित्र क्षेत्रलाई नयाँहरूले नै बोकी रहेका छन् भन्दा पनि फरक नपर्ला ।
चलचित्र क्षेत्रमा प्रवेश गर्नेहरू विभिन्न उद्देश्यले प्रवेश गरेका हुन्छन् । कतिपय लगानीकर्ताहरू चलचित्रमा व्यापार व्यवसायको लागि लगानी गर्ने गरिरहेका छन् भने कतिपय चलचित्रकर्मीहरू चलचित्रमा रहर सोख र मनोरञ्जनका लागि प्रवेश गर्नेहरू पनि नभएका होइनन् । यस क्रममा हामीले चलचित्र क्षेत्रका केही युवा कलाकारको चर्चा गर्दै छौँ, जो चलचित्र क्षेत्रमा राम्रो सम्भावनासहित भित्रिएका छन् र जसले अभिनयमार्फत चलचित्र क्षेत्रको लिड गर्न सक्ने सम्भावना देखाएका छन् ।
अनमोल केसी:
अनमोल पछिल्लो समयका एक चर्चित नायक हुन् ‘होस्टल’ चलचित्रबाट अभिनयमा डेब्यु गरेका केसी युवायुवतीका ढुकढुकी नै हुन् । वर्षमा एक मात्र चलचित्र अभिनय गर्ने उनको ‘गाजलु’, ‘ड्रिम्स’ ‘कृ’ ‘क्याप्टेन’ ‘ए मेरो हजुर ३’ राम्रै सफलता पाए।
उनलाई रोमान्टिक चलचित्र जेरीको लागि चिन्ने गरिन्छ । उनले जेरी चलचित्रमा याना शर्मासँग काम गरेका थिए । अनमोल नेपाली चलचित्र क्षेत्रमा सन् २०१३ मा होस्टेल चलचित्रबाट प्रवेश गरेका थिए । उनले गाजलु चलचित्रमा मिस नेपाल सृष्टी श्रेष्ठसँग काम गरेका छन् ।
प्रदीप खड्का:
अभिनेता प्रदीप पनि युवा युवतीमाझ निकै लोकप्रिय छन्। प्रदीपका लागि निर्माता निर्देशकप्रति चलचित्र ४० लाख तिर्नसमेत तयार छन् । ‘प्रेम गीत, ‘प्रेम गीत २’ र ‘लिलीबिली’ जस्ता लगातार सफल चलचित्र दिएका प्रदीपको चलचित्र ‘लभ स्टेसन’ ले पनि राम्रै चर्चा पायो । उनी पछिल्लो समय प्रेम गीत ३ मा व्यस्त थिए तर कोरोनाका कारण रोकिएको छ ।
पल शाह:
पल पनि धेरै फ्यान फलोअर्स भएका लोकप्रिय हिरो हुन् । म्युजिक भिडियोबाट अभिनयमा डेब्यु गरेका पलले चलचित्रमा भने त्यति कमाल देखाउन सकेका छैनन् । ‘नाइँ न भन्नु ल–४’ बाट अभिनयमा डेब्यु गरेका पलका ‘म यस्तो गीत गाउँछु’, ‘जोनी जेन्टलम्यान’ र ‘शत्रु गते’ लगायत चलचित्रसमेत बाहिर आए । तर भनेजस्तो सफलता उनको हात लाग्न सकेन ।तरपनि फिल्ममा उनको माग उच्चा छ । उनी पछिल्लो समय ‘म यस्तो गीत गाउँछु २’मा देखिएका छन् ।
आकाश श्रेष्ठ:
आकाश पनि युवापुस्ता राम्रै आसा गरिएका कलाकार हुन् । मोडलिङ हुँदै अभिनयमा डेब्यु गरेका उनको पहिलो चलचित्र ‘म त तिम्रै हुँ’ हो । राम्रो लुक्स भएका कारण पनि उनी लगातार चलचित्र पाउन सफल छन् । उनको अभिनय रहेको ‘तिमीसँग’ केही पहिले प्रदर्शनमा आएको थियो तर सफल हुन सकेन । उनी अभिनीत चलचित्र ‘ब्ल्याक’, ‘रामकहानी’ र ‘ड्रिम गर्ल’ त्यति नचले पनि पोइ पर्यो कालेले राम्रो चर्चा पायो ।
सलिमान बानियाँ
सलिमान चलचित्र क्षेत्रले आस गरेका अर्को हिरो हुन् । ‘ए मेरो हजुर–२’ बाट अभिनयमा डेब्यु गरेका सलिमानको पहिलो चलचित्र नै हिट भयो । चलचित्र चलेपछि उनी रातारात चर्चित मात्र बनेनन्, डिमान्डका हिरोसमेत भए । पहिलो चलचित्रबाटै दर्शकमा धेरै क्रेज बनाउन सफल उनी युवायुवतीका मन पर्ने हिरो पनि हुन् । उनी त्यसपछि निर्माता केशव भट्टराईको चलचित्र ‘यात्रा’मा देखिए तर फिल्मले भने जस्तो सफलता पाउन सकेन तरपनि उनी निकै डिमान्डको नायक हुन ।
साम्राज्ञी राज्यलक्ष्मी शाह:
पछिल्लो समयकी सबैभन्दा डिमान्डकी हिरोइन हुन् साम्राज्ञी । उनलाई महँगी अभिनेत्रीको रूपमा पनि चर्चा गरिन्छ । ‘ड्रिम्स’ चलचित्रबाट अभिनयमा डेब्यु’ गरेकी साम्राज्ञीको ‘ड्रिम्स’पछि अर्को सफल चलचित्र ‘एक मेरो हजुर २’ हो । उनले ‘तिमीसँग’ चलचित्रबाट भने सफलता हात पार्न सकिनन् । तरपनि उनको फिल्ममा माग उच्च छ ।
आँचल शर्मा:
आँचल पनि धेरै फ्यान फलोअर्स भएकी अभिनेत्री हुन् । म्युजिक भिडियो हुँदै ‘नाइँ न भन्नु ४’ बाट अभिनय डेब्यु गरेकी हुन् । त्यसपछि ‘जोनी जेन्टलम्यान’ र ‘शत्रु गते’मा उनी देखिएकी थिइन् । आँचल अभिनीत सफल चलचित्र ‘शत्रु गते’ हो । तर सफलताको श्रेय भने उनले पाइनन् । अभिनेता पल शाहसँग चलचित्र र म्युजिक भिडियो जोडी बाँधिएर देखिएपछि निकै चर्चित बनेकी उनी हाल डा उदिप श्रेष्ठसँग विवाह गरेर नयाँ जीवनको सुरुवात गरेकी छन् ।
उपासना सिंह ठकुरी
चर्चित नायक तथा निर्देशक भुवन केसीले निर्देशन गरेको चलचित्र ‘क्याप्टेन’ बाट डेब्यु गरेकी हुन् – नायिका उपासना सिंह ठकुरीले । चलचित्र क्याप्टेनमा उनको जोडी अनमोल केसीसँग बाँधिएको थियो । उनको अभिनयलाई पनि दर्शकले रुचाएका थिए । उपासना त्यसपछि चलचित्र कबड्डी कबड्डी कबड्डी मा अभिनय गरिन् । कबड्डी कबड्डी कबड्डी की उनी सिङ्गल नायिकाका रूपमा देखिइन । उक्त चलचित्र निकै सफल समेत भयो ।
जसिता गुरुङ :
जसिता केही पहिले प्रदर्शित अभिनेता प्रदीप खड्का अभिनीत ‘लिलीबिली’बाट चलचित्र क्षेत्र भित्रिएकी हुन् । पोखरामा जन्मिए पनि युकेमा हुर्के बढेकी उनको ‘लिलीबिली’ अभिनय दर्शकले निकै रुचाए । पहिलो चलचित्रबाटै दर्शकको रोजाइमा पर्न सफल उनी अहिले युकेमै छिन् । उनी अभिनित चलचित्र ‘लभ स्टेसन’मा पनि राम्रै चर्चा पायो ।
सुहाना थापा:
अहिले निकै चर्चामा आएकी नायिका हुन् – सुहाना थापा । उनले चलचित्र ‘ए मेरो हजुर न – ३’ मार्फत आफ्नै प्रोडक्सन हाउसबाट डेब्यु गरेकी हुन् । उनको चलचित्र रिलिज हुनु भन्दा पहिले नै उनी निकै चर्चामा आइसकेकी थिइन् । उक्त फिल्मले सफलता पाएपछि उनको चर्चा पनि निकै बढेको छ ।