काठमाडौँ । खाडी क्षेत्रमा नेपाली श्रमिकका लागि नयाँ श्रम स्वीकृति पुन: खुला गर्ने विषयमा परराष्ट्र मन्त्रालयअन्तर्गतको इमर्जेन्सी रेस्पोन्स टिम (इआरटी) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई सिफारिस गरेको छ।
परराष्ट्र सचिव अमृत राईको संयोजकत्वमा सोमबार बसेको इआरटी बैठकले पश्चिम एसियामा देखिएको तनाव क्रमश: सहज बन्दै गएको मूल्यांकन गर्दै श्रम स्वीकृति पुन: सञ्चालन गर्न उपयुक्त हुने निष्कर्ष निकालेको हो।
यसअघि अमेरिका, इजरायल-इरानबीच देखिएको द्वन्द्वपछि खाडी क्षेत्रका कतार, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन, कुवेत, ओमान, इजरायल र टर्की लगायतका मुलुकमा नयाँ श्रम स्वीकृति तथा नवीकरण प्रक्रिया रोकिएको थियो। सो समयमा बिदामा आएका श्रमिकका लागि भने नवीकरण अनुमति दिइएको भए पनि नयाँ स्वीकृति जारी गरिएको थिएन।
श्रम स्वीकृति रोकिएसँगै ती मुलुकका लागि नेपाली दूतावासबाट हुने मागपत्र प्रमाणीकरण प्रक्रिया पनि प्रभावित भएको थियो।
हालको बैठकले परिस्थितिमा सुधार देखिएकाले श्रम स्वीकृति पुन: खुला गर्ने सिफारिस गरेको छ। श्रम मन्त्रालयले भने रोकिएको प्रक्रिया क्रमश: अघि बढाउने तयारी भइरहेको जनाएको छ।