काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता गर्नुपर्ने माग राख्दै राष्ट्रिय जेन जेड नागरिक अभियानले नेपाल आयल निगम परिसर नजिक प्रदर्शन गरेको छ।
सोमबार बबरमहलस्थित निगम कार्यालयमा धर्ना दिन पुगेको समूहलाई सुरक्षाकर्मीले समन्वयको अभाव देखाउँदै परिसरभित्र प्रवेश गर्न नदिएपछि उनीहरूले आसपासको क्षेत्रमा प्रदर्शन गरेका हुन्।
अभियानले निगमलाई ज्ञापन पत्र बुझाउने तयारी गरे पनि सुरक्षाकर्मीले रोक लगाएपछि उनीहरू बाहिरै नाराबाजीसहित विरोधमा उत्रिएका थिए। प्रदर्शनका क्रममा उनीहरूले मूल्यवृद्धि फिर्ता गर्नुपर्ने र प्रशासनिक निर्णयविरुद्ध कडा असन्तोष व्यक्त गरेका छन्।
प्रदर्शनकारीहरूले छिमेकी मुलुकहरूको तुलनामा नेपालमा पेट्रोलियम पदार्थको मूल्य असामान्य रूपमा बढाइएको दाबी गर्दै त्यसप्रति आपत्ति जनाएका छन्। उनीहरूले मूल्य समायोजन नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनीसमेत दिएका छन्।